Fri. Apr 26th, 2024

संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ । ‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बिमोचन गर्नुभएको हो । संगीतकार श्रेष्ठको यो २१औँ एल्वम पनि हो ।
‘सुरक्षा’ एल्वममा राष्ट्र कवि घिमिरेद्वारा लेखिएको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची…’ बोलको गीत १ नं.मा राखिएको छ । कालीप्रसाद रिजाल ‘सुन हे सुन तन्नेरी हो…’लाई दोस्रो स्थानमा राखिएको श्रेष्ठले बताउनुभयो । बिमोचन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्र कवि घिमिरेले राष्ट्रिय भावले ओतप्रोत गीतहरूको अहिले झन् सान्दर्भिक रहेको बताउनुभयो ।
देशको माया सबैलाई हुने बताउनुभएका घिमिरेले भन्नुभयो, ‘राष्ट्रप्रति सबैले माया गर्छन् । राष्ट्रियताप्रति श्रद्धाभाव कसलाई नहोला र ?’ राष्ट्र कवि घिमिरेले नयाँ पुस्ताले साहित्य, गीत र संगीतमा गरेको प्रगति देख्दा आफूलाई अर्को जुनी पनि पाउँ भन्ने जस्तो लाभ लाग्ने गरेको बताउनुभयो ।
गीतकार कालीप्रसाद रिजालले बजारमा आएका गीतसंगीतहरूप्रति केही टिप्पणी गर्दै भन्नुभयो, ‘गीत इमान्दार भएर लेख्नु पर्छ । म पनि गीत इमान्दार भएर लेख्छु वा लेख्दिन त्यो म भन्न सक्दिन । तर, तपाईले गीत लेख्नु हुन्छ भने आत्माबाट लेख्नुस् । कृतिम तरिकाले गीत नलेख्नुस् ।’
वरिष्ठ संगीतकार दीपक जंगमले सन्तोष श्रेष्ठले जोखिम मोलेर राष्ट्रिय भावको गीति एल्वम ल्याएको भनेर टिप्पणी गर्नुभयो ।
बिमोचन कार्यक्रममा संगीतकार दीपक जंगम, अधिवक्ता भीमार्जुन आचार्य, संगीतकार शक्ति वल्लभ, विश्व वल्लभ, चुडामणि देवकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, प्राज्ञ ज्योतिप्रकाश, मनोहर सुनाम, आनन्द कार्की, अमूल कार्की ढली, सञ्चारकर्मी शान्ति प्रिय, सहितका गायक गायिका, संगीतकार, साहित्यकारलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

%d bloggers like this: