Fri. Apr 26th, 2024

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीको प्रभाव यतिबेला नेपालमा पनि छ । दिनानुदिन नयाँ संक्रमित बिरामीको संख्या बढिरहेको छ । कोरोना सम्बन्धी जनचेतना जगाउनकै लागि नयाँ संगीत सिर्जनाहरु बजारमा आइरहेका छन् । कोरोना सम्बन्धी गीतको लहर चलिरहँदा गायक सन्जीव पराजुलीले भने कोरोनालाई नछोई माया प्रेमको गीतको भिडियो ल्याएका छन् ।
डान्सिङ नम्बर ‘छैन मलाई पीर’ बोलको गीतमा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ ।

गीतमा ग्रामीण परिवेश देखाइएको छ । गीतमा कुसुमलाई मनमनै मनपराएर उनीसँग नाँचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसंग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सन्जीवसँग हुन्छ । भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ ।
एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको सम्पादन र कलर करेक्सन छ । भिडियोलाई गायक सन्जीवकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो निर्माणमा बाबा एजुकेसन कन्सल्टेन्सी एण्ड आरकेएस अष्ट्रेलिया तथा ट्याक्सीमाण्डुको सहयोग छ ।

Leave a Reply

%d bloggers like this: