Sat. Apr 27th, 2024

काठमाडाैँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनि सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

 

Leave a Reply

%d bloggers like this: