Fri. Apr 26th, 2024

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’को रिलिज मिति स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णय बमोजिम ‘प्रेमगीत–३’को रिलिज तत्कालका लागि स्थगित गरिएको निर्माता सेनले जानकारी दिनुभयो ।

यस अगाडि यो फिल्म नयाँ वर्षको अवसरमा यही चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिज गर्ने तयारी थियो ।

निर्माता सेनले भन्नुभयो, ‘विभिन्न अवरोधलाई चुनौती र अवसरका रुपमा लिएर हाम्रो टिमले चैत २८ गतेबाट आम दर्शकमाझ ल्याउने गरी एउटा अविष्मरणीय निषेधित प्रेमकथालाई ठूलो क्यानभासमा तयार गरेका थियौं । तर, कोरोनाको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिरहेको समयमा नेपाल सरकारको निर्णय बमोजिम हाललाई आमदर्शकमाझ क्षमा माग्दै अर्को निर्णय नभएसम्मका लागि प्रेमगीत–३ को रिलिज मिति स्थगित गरेका छौं ।’

त्यस्तै उहाँले थप्नुभयो, ‘हामी हाम्रो दर्शक, देश र नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर छौं । परिस्थिति सामान्य बनेपछि कोसेली लिएर दर्शकमाझ आउनेछौं । कोरोना भाइरस (कोभिड–१९)बाट आफू बचौं र अरुलाई पनि बचाऔं ।’

‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

त्यस्तै, फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ, भने कविराज गहतराजको कोरियोग्राफी र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यस फिल्मले रिलिज अगाडि नै विदेश राइट्सबाट करीब एक करोडको विजिनेस गरिसकेको छ ।

Leave a Reply

%d bloggers like this: