Fri. Apr 26th, 2024

नेपाल चलचित्र समीक्षक समाजले कलाकार दयाहाङ राई र प्रियंका कार्कीलाई दोस्रो नेपाल फिल्म क्रिटिस्ट अवार्डको विजेताको रुपमा घोषणा गरेको छ ।

समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा मंगलबार बसेको बैठकले उत्कृष्ट फिल्म (कबड्डी), उत्कृष्ट निर्देशक ‘निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के), उत्कृष्ट पटकथा ‘रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), उत्कृष्ट अभिनेता ‘ दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेत्री ‘प्रियंका कार्की (सुन्तली), उत्कृष्ट छायांकन ‘अन्ड्रा बेलिसिया (सुन्तली), उत्कृष्ट सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पार्श्व संगीत ‘जेसन कुँवर (टलकजंग भर्सेस टुल्के) विधातर्फ अवार्ड दिने टुंगो लगाएको हो ।
२०७१ सालमा रिलिज भएका फिल्महरु मध्येबाट ‘सर्ट लिस्ट’ गरी हेरिएका फिल्म मध्येबाट ८ विधामा छनोट गरिएको थियो । अघिल्लो विधामा सात विधामा बाँडिएको अवार्ड यो साल थप एक विधा थप्दै बाँड्न लागिएको हो । पाश्र्व संगीत थपिएको विधा हो ।

‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’को नाममा हुने अवार्डमा २०७१ सालभरि रिलिज भएका नेपाली फिल्महरु समेटिएका थिए । ‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सदस्यहरुले अवलोकन गरेका थिए । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छनोट गरिएको हो ।
समाजका सबै सदस्य जुरी रहने अवार्ड आयोजनाका लागि अनुप सुवेदीलाई जुरी संयोजक तोकिएको थियो ।
सूची सार्वजनिक भएको केही दिनपछि एक समारोह आयोजना गरी विजेतालाई ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्ने समाजले जनाएको छ ।

%d bloggers like this: