विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए । बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन् । ‘परिणिता’बाट नयाँ अभिनेत्रीलाई दिइने फिल्मफेयर अवार्डका लागि मनोनीत भएकी थिइन् उनी ।
‘सलाम–ए–इश्क’, ‘एकलव्य’, ‘हे बेबी’, ‘भुलभुलैया’जस्ता हल्काफुल्का फिल्मदेखि ‘किस्मत कनेक्सन’जस्तो ताई न तुईको फिल्ममा काम गरेर मसालादार ‘हिरोइन’हरूको भीडमा हराउन लागेकी विद्याले सन् २००९ देखि आफ्नो अभिनयको धारलाई पूरै बदलेकी थिइन् । अमिताभ बच्चनको आमा भएर उनले अभिनय गरेको फिल्म ‘पा’ले उनको करिअरलाई पूरै बदलिदियो । त्यसयता उनले ‘इस्किया’, ‘नो वान किल जेसिका’, ‘द डर्टी पिक्चर्स’, ‘कहानी’, ‘बम्बई टाकिज’, ‘घनचक्कर’जस्तो फिल्म समीक्षकहरूले मुक्तकण्ठले तारिफ गरेका फिल्ममा ‘लिडिङ’ रोल गरेर आफूलाई समकालीन अभिनेत्रीमा अब्बल साबित गरिन् ।