Thu. Mar 28th, 2024

काठमाडौं, पुष २३ । अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन् । पुरुषप्रधान बलिउडमा ‘हिरोलाई छायामा पार्ने हिरोइन’को परिचय बनाइन् र पद्मश्रीजस्तो भारत सरकारले प्रदान गर्ने चौथो ठूलो नागरिक सम्मानबाट विभूषित भइन् ।
विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए । बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन् । ‘परिणिता’बाट नयाँ अभिनेत्रीलाई दिइने फिल्मफेयर अवार्डका लागि मनोनीत भएकी थिइन् उनी ।
‘सलाम–ए–इश्क’, ‘एकलव्य’, ‘हे बेबी’, ‘भुलभुलैया’जस्ता हल्काफुल्का फिल्मदेखि ‘किस्मत कनेक्सन’जस्तो ताई न तुईको फिल्ममा काम गरेर मसालादार ‘हिरोइन’हरूको भीडमा हराउन लागेकी विद्याले सन् २००९ देखि आफ्नो अभिनयको धारलाई पूरै बदलेकी थिइन् । अमिताभ बच्चनको आमा भएर उनले अभिनय गरेको फिल्म ‘पा’ले उनको करिअरलाई पूरै बदलिदियो । त्यसयता उनले ‘इस्किया’, ‘नो वान किल जेसिका’, ‘द डर्टी पिक्चर्स’, ‘कहानी’, ‘बम्बई टाकिज’, ‘घनचक्कर’जस्तो फिल्म समीक्षकहरूले मुक्तकण्ठले तारिफ गरेका फिल्ममा ‘लिडिङ’ रोल गरेर आफूलाई समकालीन अभिनेत्रीमा अब्बल साबित गरिन् । कतिसम्म भने उनको अभिनयबाट नसिरुद्दिन शाहजस्ता बलिउडका हस्तीसमेत प्रभावित भए । ‘इस्किया’ र ‘द डर्टी पिक्चर्स’मा विद्याले आफ्नो पात्रलाई नसिरुद्दिनको भन्दा कमजोर बन्न दिइनन् ।
मुम्बई विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर विद्याले अहिलेसम्म एउटा नेसनल फिल्म अवार्ड, पाँच वटा फिल्म फेयर अवार्ड र पाँच वटा स्क्रिन अवार्ड पाइसकेकी छिन् । विद्याको करिअरलाई माथि उठाउने मुख्य फिल्म हुन्– ‘इस्किया’, ‘द डर्टी पिक्चर्स’ र ‘कहानी’ । पद्मश्री पाएपछि उनी नसिरुद्दिन शाह, आमिर खान, ऐश्वर्या राय, इरफान खान, अमिताभ बच्चनजस्ता पद्मश्री पाएका बलिउडका उम्दा कलाकारका पंक्तिमा दरिन पुगेकी छिन् ।
‘द डर्टी पिक्चर्स’मा विद्यासँग काम गरेका नसिरुद्दिनले उनलाई ‘जोखिम लिन सक्ने विलक्षण अभिनेत्री’ भनेका थिए । ‘आमिर खान नराम्रा कलाकार होइनन्’ भन्ने नसिरुद्दिनले विद्याको तारिफ गर्दै भनेका थिए, ‘अब विद्याका लागि नारीकेन्द्रित फिल्मको स्क्रिप्ट लेख्ने बेला भएको छ । उनीबाहेक अरूले यस्तो स्क्रिप्टलाई न्याय गर्नै सक्दैनन् ।’
‘द डर्टी पिक्चर्स’ रिलिज भएपछि धेरैले विद्यालाई आमिर खानसँग तुलना गरेका थिए । फिल्म ‘कहानी’ हेरेपछि निर्देशक अनुराग कश्यपले विद्यालाई आमिरको उत्तराधिकारी घोषणा गरिदिएका थिए । फिल्मको स्क्रिप्ट छनोट गर्ने र पात्रमा आफूलाई चुर्लुम्म डुबाउने कला विद्याले आमिरबाट सापटी लिएको चर्चा सर्वत्र चलेको थियो । विद्या स्वयम्ले ‘आमिरको धेरै कुराबाट आफू प्रभावित भएको’ बताउँदै घुमाउरो पाराले आमिरसँग काम गर्ने इच्छा सार्वजनिक रूपमै व्यक्त गरेकी थिइन् । आफूसँग विद्याको तुलना हुन थालेपछि आमिरले विद्यालाई ‘प्रतिभावान् र अद्वितीय अभिनेत्री’ भन्दै उनलाई आफूसँग तुलना नगर्न आग्रह गरेका थिए । साथै, उनले विद्यासँग काम गर्न आफू पनि इच्छुक रहेको बताएका थिए । बलिउडका यस्ता उम्दा अभिनेताबाट तारिफ बटुलिसकेकी विद्याले पद्मश्री पाएपछि भारतीय सञ्चारमाध्यमले ‘प्रतिभाको सही कदर भएको’ टिप्पणी गरेका छन् । पद्मश्री कला, साहित्य, शिक्षा, उद्योग, खेलकुद, समाजसेवा, स्वास्थ्य र सार्वजनिक क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउने भारतीय नागरिकलाई प्रदान गरिन्छ ।
म के सुन्दै छु भन्ने भयो  –विद्या बालन
vidya-balan-hot-photo-007
भर्खर फिल्मलाइनमा आउँदा बिद्याले खिचाएको तस्बिर
पद्मश्री पाएपछि कस्तो अनुभव भइरहेको छ ?
कहिलेकाहीँ त होइन जस्तो पनि लाग्छ । सुरुमा खबर पाउँदा म मुम्बईमा फिल्म ‘बबी जासुस’को छायांकनमा व्यस्त थिएँ । टिमका सबै मिलेर हल्का ‘सेलिब्रेट’ ग¥यौँ । घर फर्किएपछि परिवारसँग पनि ‘सेलिब्रेट’ गरेँ । मैले पुरस्कार पाउने थाहा पाएपछि घरका सबै भावुक भएका रहेछन् । सबै खुशी छन्, मक्ख छन् । मलाई पनि धन्य महसुस भइरहेछ । गद्गद् छु ।
पद्मश्री पाउने सपना कहिल्यै देख्नुभएको थियो ?
कहाँ देख्नु ? फिल्म अवार्ड पाउनुअघि ‘नोमिनेसन’ प्रक्रियाबाट गुज्रनुपर्छ । यस्तोमा ‘मैले पनि अवार्ड पाउन सक्छु’ भन्ने थाहा हुन्छ । तर, यसपल्ट चकित भएँ । सबै कुरा हठात् भयो ।
सरकारी अधिकारीबाट पहिलो खबर पाउनुभयो कि सञ्चारमाध्यमबाट ?
उनीहरूले सबैभन्दा पहिले सिद्धार्थ (श्रीमान् सिद्धार्थ राय कपुर)लाई खबर गरेछन् । खबर पाउनसाथ सिद्धार्थले मलाई फोन गरेका रहेछन् । तर, छायांकनमा व्यस्त भएकाले उठाउनै पाइनँ । एकछिनपछि मोबाइलमा ‘मिस्ड कल’ देखेपछि फोन गरेको त उनी असाध्यै खुशी भएका रहेछन् । केही सेकेन्डसम्म त म के सुन्दै छु भन्ने मलाई अत्तोपत्तो नै भएन ।
अरू कुनै अवार्ड पाउने इच्छा छ ?
चिताएभन्दा ठूलो पुरस्कार मैले पाइसकेकी छु । मप्रति ईश्वरको ठूलो कृपा रहेछ । म धन्य भएकी छु । सबै सपना पूरा भएका छन् । योभन्दा बढ्ता मलाई केहीको पनि चाहना छैन ।
ठूलो पार्टी दिने योजना छ कि ?
‘सेलिब्रेट’ गर्ने इच्छा त छ । पार्टी चाहियो भनेर सबैले भनिरहेका पनि छन् । तर, अहिले म सुटिङमा व्यस्त छु ।
(‘हिन्दुस्तान टाइम्स’बाट)
 

%d bloggers like this: