Mon. May 20th, 2024

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो ।

झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

यसका अलावा आफ्नो कमजोरी लुकाउन दोश्रो विवाह टार्दै आएका दयामाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसंगलाई ट्रेलरमा देखाइएको छ । यी दुई घटनाक्रमको उतारचढाव नै चलचित्रको कथा भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरले चलचित्र सिचुयसनल कमेडीले भरपुर रहेको संकेत गर्दै चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने आशा देखाएको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको चलचित्रमा माघ २६ गते रिलिज हुँदैछ । नेपाली चलचित्र जगतले यो चलचित्रलाई वक्सअफिसमा राम्रो व्यापारिक नतिजा बोकेको चलचित्रका रुपमा हेरेका छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । चलचित्रलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

Leave a Reply

%d bloggers like this: