Mon. May 20th, 2024

काठमाडौं / एसिड आक्रमण घटनाको कथामा निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक तथा निर्माता रमित ढुंगानाले चलचित्रको बारेमा जानकारी दिएका हुन् ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । यो चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अतिथि कलाकारको रुपमा अभिनय गर्न लागेको जानकारी समेत दिइएको छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ असोजमा तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो । चलचित्रको कथाअनुसार सोही सन्दर्भ चित्रण गर्नुपर्ने भएकाले ओली प्रधानमन्त्रीकै रोलमा देखिन लागेको जानकारी कार्यक्रममा दिइएको थियो ।

चलचित्रको घोषणा कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले एसिड आक्रमण गर्नेमाथि कानुनअनुसार कारवाही हुनुपर्ने बताए । चलचित्रको मुहूर्तमा ओलीले एक्सन भन्दा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप, रमेश उप्रेतीले कट र अभिनेता धीरेन शाक्यले अभिनय गरेका थिए । अभिनेता विक्रान्त बस्नेतले नरिवल फुटाएका हुन् ।

यो चलचित्रमा निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिने भएका छन् । चलचित्रको औपचारिक घोषणा कार्यक्रममा तेजाब आक्रमणको घटनाका केही पीडित पनि उपस्थित थिए । उनीहरुले आक्रमणका दोषीलाई हदैसम्मको सजाय हुनुपर्ने प्रावधान कानुनमा राख्नुपर्ने माग गरेका थिए ।

एमाले अध्यक्ष ओलीले चलचित्रले एसिड आक्रमण रोक्न सकारात्मक सन्देश दिने अपेक्षा व्यक्त गरेका छन् । चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माले समेत अभिनय गर्दैछन् । माघ २५ गतेदेखि चलचित्र छायांकन गर्ने तयारी छ । चलचित्रको छायांकन एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ ।

‘यो चलचित्र एसिड आक्रमण्मा परेका सबै भिक्टिमहरुको बायोपिक हो,’ निर्देशक रमितले भने, ‘आक्रमणका घटना भएका ठाउँमा चलचित्र छायांकन गर्ने योजना छ ।’ गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको स्कृप्ट लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर लेखेका हुन् । यो चलचित्र रमितको डेब्यु निर्देशकीय चलचित्र हो भने निर्माणको रुपमा तेस्रो । यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’को निर्माण गरेका थिए ।

Leave a Reply

%d bloggers like this: