Thu. May 9th, 2024

काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा चलचित्रका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन् ।

चलचित्रको सार्वजनिक पोस्टरमा उनीहरुको लुक्स पृथक छ । आर्यन र पलको उन्मत्त हाँसो देखिन्छ भने प्रदीप ओठ टोकेर आँखा सन्काउँदै कमेडी अन्दाजमा प्रस्तुत छन् । पोस्टर सार्वजनिकसँगै चलचित्रको छायांकनका लागि निर्माण टिम आइतबार कास्कीको कास्कीकोटतर्फ प्रस्थान गरेको छ ।

चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शंकर आचार्य, गोविन्द रमण पराजुली आदिको पनि अभिनय रहनेछ । यो चलचित्रमा विकास सुवेदीको लेखन छ । जातीय विभेदविरुद्ध समाजका तिन पात्रहरूले गर्ने संघर्षको कथामा निर्माण हुने चलचित्रको निर्माता सुबास भुसाल हुन् ।

संगीतकार समेत रहेका भुसालले पहिलोपटक चलचित्र निर्माण गर्न लागेका छन् । उनका ‘लै लै’ र ‘बनकी चरी’ गीत सर्वाधिक चर्चित मानिन्छन् । चलचित्रका गीतमा उनकै संगीत छ भने हर्क साउद, बि पाण्डे, दिनेश राउत र गणेश शाहीले गीत लेखेका छन् । किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको मंगलबारबाट छायांकन सुरु हुनेछ ।

‘पूजार सार्की’मा छायांकन राजेश श्रेष्ठ, सम्पादन सुप्रिम पराजुली, साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, प्रोडक्शन डिजाइन कसम नेपाल, कस्ट्युम डिजाइन आशिष पौडेल, द्वन्द्व निर्देशन हिमाल केसी, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहनेछ ।

Leave a Reply

%d bloggers like this: