Sat. Apr 27th, 2024

काठमाडौं / आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । विमानस्थलको विदाईको दृश्यबाट सुरु भएको शुक्रबार सार्वजनिक ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिन्छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य मार्मिक छ ।

उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको चलचित्रको ट्रेलरका हरेक दृश्य मर्मस्पर्शी लाग्छन् । अभिनेता प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङलाई सिनेमाको ट्रेलरमा स्थान दिइएको ।

प्रकाशको धन कमाउन अमेरिका भासिएको पात्र अमेरिकाको न्युयोर्क पुगेपछि वृद्ध बुवाआमा र बाटो हेर्दै बसेकी मायालुलाई भेट्न फर्किन्छ वा फर्कदैन ? प्रशान्त तामाङ लाहुरेको भूमिकामा ‘परदेशी २’ मा देखिएका छन् । घर बिदामा फर्किएका प्रशान्तको पात्रको विवाह केकी अधिकारीसँग हुन्छ ।

अर्कोतर्फ, प्रकाश र केकीबीचको रोमान्टिक सम्बन्ध अनि अमेरिकामा प्रकाश र वर्षाको पात्रको सानिध्यता पनि देखाइएको छ । चलचित्रले परदेशिएको पात्रको कसरी सम्बन्ध बन्छन् र भत्कन्छन् भन्ने देखाउन खोजेको छ । निर्देशक नारायण रायमाझीले ‘गोर्खापल्टन’ र ‘परदेशी’को मनोविज्ञान र संरचनामा सिनेमा बनाएको बुझ्न सकिन्छ ।

नारायण रायमाझी निर्देशित चलचित्रमा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर चलचित्र निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: