Tue. Apr 30th, 2024

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम जुराइएको फिल्मको घोषणा गरियो । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।
सुरुवातमा फिल्मको नाम ‘एन्टी भाइरस’ जुराइएको थियो । त्यसपछि ज्योतिषले ‘एस’ बाट नाम राख्न सुझाव दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी भाइरस’ बनाए । तर, केही दिन अगाडि फेरि फिल्मको नाम परिवर्तन गरेर ‘छल कपट’ राखिएको थियो । अन्ततः फिल्मको नामाकरण ज्योतिषले जुराएकै नामबाट गरिएको छ । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।
फिल्ममा ‘धुर्मुस-सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।
 
 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: