Wed. May 1st, 2024

काठमाडाैं ।
फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि फरक-फरक जनराका तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । यी तीनै फिल्मले फरक कथावस्तु उठाएका छन् ।
‘कथा काठमाण्डू’ ले घरेलु हिंसाको कथा भन्छ । ‘छिरिङ्ग’ ले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ । र, ‘अनुराग’ एक म्यूजिकल लभस्टोरी फिल्म हो । मल्टिप्लेक्समा अन्य दुई फिल्मभन्दा ‘कथा काठमाण्डू’ ले निकै राम्रो शोज पाएको छ ।
संगीता श्रेष्ठ निर्देशित यस फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । ‘रातको कुरा…’ बोलको गीतमा प्रियंका र प्रमोदको इन्टिमेट सिन पश्चात् यो फिल्मको चर्को आलोचना भइरहेको छ ।
‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशित फिल्म हो । उनका अलावा गायक तथा अभिनेता निमा रुम्बाको पनि फिल्ममा अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल छिन् ।
यस्तै, पत्रकारिता क्षेत्रमा कपाल फुलाएका ऋषि धमलाले निर्माण गरेको ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यु फिल्म हो । सत्यराज चौलागाईँ निर्देशित फिल्ममा समुन्द्र पण्डितको पनि लिड रोल छ ।
नेपाली तीन फिल्मसँग बलिउडको प्रतिक्षीत फिल्म ‘सुई धागा’ ले एकाध सिंगल पर्दासँगै अधिकांश मल्टिप्लेक्स स्कृनमा आफ्नो कब्जा जमाएको छ । यो फिल्मको प्रतिक्षा नेपालमा पनि लामो समयदेखि भइरहेको थियो । फिल्मलाई राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शुक्रवार १७ शोज बाँडेको छ ।
मनीष शर्मा निर्मित फिल्ममा अनुष्का शर्मा र वरुण धवन लिड रोलमा छन् । मौजी बनेका वरुण र ममता बनेकी अनुष्काको जिन्दगीको कहानी र उनीहरुको स्ट्रगसलाई फिल्ममा देखाइएको छ । मीण पृष्ठभूमिसँग जोडिएको फिल्ममा अनु मल‍िकको सोलो संगीत छ ।
हल र दर्शक संख्याका हिसाबले एकै साता एकभन्दा बढी फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ । अब ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र अनुराग’ सँगै बलिउड फिल्म ‘सुई धागा’ मध्ये बक्सअफिसमा कसको पल्ला भारी होला ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

Leave a Reply

%d bloggers like this: