Sat. Apr 27th, 2024

काठमाडौं, २१ चैत । हास्य अभिनेत्री संगम राई ‘लभ्ली’ ‘वल्र्ड कप’ मा देखिँदै छिन् । वल्र्ड कपमा उनले गोल गर्लिन् वा के गछिन् त्यो भने १२ वैशाखपछि थाहा हुनेछ । चलचित्र ‘वल्र्ड कप इन नेपाल’ मा मुख्य भूमिमा देखिन लागेकी संगम भन्छिन्, ‘दर्शकको साथ पाएँ भनँे गोल हान्न सफल हुनेछु ।’ काँचका पर्दामा जमेकी उनी ठूलो पर्दामा पहिलोपटक ‘हिरोइन’ का रूपमा देखिन लागेकी हुन् । प्रकाश थापा निर्मित ‘वल्र्ड कप इन नेपाल’ १२ वैशाखबाट सार्वजनिक हुँदै छ । त्यसपछि नै संगमको बल ‘हिरोइन’ पोस्टमा गोल छिर्छ/छिर्दैन थाहा हुनेछ ।
संगम भने आशावादी छिन् । उनी भन्छिन्, ‘वल्र्ड कप इन नेपालमा मेरो एक्दमै राम्रो भूमिका छ । यो चलचित्र हेरेपछि दर्शकले मेरो झ्याइँकुटी झयाइँको भूमिका समेत बिर्सनेछन् ।’ रामशरण पाठक निर्देर्शित ‘वल्र्ड कप इन नेपाल’ मा दुगर्म गाउँमा हुर्किएका बालकको विश्वकप खेल्ने सपनालाई मुख्य विषयवस्तु बनाइएको छ ।

lovely
संगमले हास्य टेलिचलचित्र ‘झ्याइँकुटी झ्याइँ’मार्फत काँचको पर्दामा पृथक् पहिचान बनाउन सफल भएकी छन् । सो टेलिचलचित्रमा ‘लभ्ली’ को भूमिकापश्चायत् उनलाई दर्शकले ‘लभ्ली’कै रूपमा चिन्न थाले । संगमलाई विशेष गरी ‘मोर्डन कमेडी आर्टिस्ट’ का रूपमा दर्शकले चिन्ने गरेका छन् तर उनी आफूलाई ‘कमेडी आर्टिस्ट’ नभई ‘आर्टिस्ट’ मात्र भन्न रुचाउँछिन् । चलचित्र ‘वल्ड कप इन नेपाल’ बाट ‘हिरोइन’मा देखिन लागेकी संगम भन्छिन्, ‘हो, मलाई धेरैले कमेडी अर्टिस्ट भन्छन् । तर, म आफूलाई हास्य कलाकार भन्न रुचाउँदिनँ, एक कलाकार हुँ । क्यारेक्टरअनुसार म अभिनय गर्छु ।’
हुन पनि संगम हास्य अभिनयमा मात्र सीमित छैनन्, दर्जनौँ टेलिचित्रमा अभिनयका अलावा आफूलाई मोडलिङदेखि स्टेज नृत्यसम्म जमाउँदै आएकी छन् । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी संगमले अबका दिनमा ‘आइटम नम्बर’ मा समेत जम्ने सोच बनाएकी छन् । केही चलचित्रमा ‘आइटम डान्स’ गरिसेकेकी उनले भनिन्, ‘नेपाली चलचित्रमा हट आइटम डान्स गर्ने इच्छा छ । सायदै चाँडै आइटम गर्लका रूपमा आउन सक्छु ।’ ‘हट सिन’ का लागि कन्जुस्याइँ नगर्ने संगमलाई सानो पर्दाकी ‘हट आर्टिस्ट’ का रूपमा पनि चिनिन्छिन् । यसैबेला ‘वल्र्ड कप इन नेपाल’ मार्फत ठूलो पर्दामा उक्लेकी संगमलाई ‘आइटम नम्बर’ का रूपमा उतार्ने निर्माताले पक्कै बाजी मार्ने नै छ । त्यसो त उनले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन्, तर मुख्य भूमिकामा देखिएकी थिइनन् । त्यो इच्छा ‘वल्र्ड कप इन नेपाल’ले पूरा गरेको छ । अब उनलाई ‘आइटम नम्बर’ मा आफ्नो जलवा देखाउने रहर छ ।
एक प्रशंगमा संगमले सानैदेखि ‘हिरोइन’ बन्ने रुचि जागेको सुनाइन् । उनले भनिन्, ‘सानैमा मलाई हिरोइन बन्ने रहर जागेको थियो, त्यसैले ऐना हेरेर फिल्मको हिरोइनजस्तै नाच्ने गर्थेँ । अहिलेजस्तो ठूलो ऐना पनि थिएन । गाउँमा सानो ऐना हुन्थ्यो । शरीरसमेत पूरा देखिँदैन्थ्यो ।’ त्यतिखेर ‘एक्सन हिरोइन’ बन्ने इच्छा रहेको उनले सुनाइन् । मार्सल आर्टको ‘ब्ल्याकबेल्ट’ संगमले भनिन्, ‘म नयाँ सोच राख्ने केटी हुँ, त्यतिखेर नेपाली चलचित्रममा एक्सन हिरोइन कोही थिएनन् । त्यसैले एक्सन हिरोइन बन्ने सोच बनाएकी थिएँ । तर, हास्य कलाकार बनेर चिनिएँ ।’ एक्सन हिरोइनको इच्छा कायमै रहेको सुनाउँदै उनले भनिन्, ‘एक्सन हिरोइन बन्ने अझै धोको छ । हिरोइन नभए आइटम डान्सर बन्ने इच्छा छ ।’

%d bloggers like this: