Mon. May 6th, 2024

काठमाडौं / सेन्सर बोर्डको हस्तक्षेप नेपाली चलचित्रमाथि बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक चलचित्र ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।

बिहीबार सेन्सरका पदाधिकारीहरुले चलचित्र हेरेका थिए । त्यसपछि नाममा आपत्ति जनाउँदै बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा चलचित्र बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र चलचित्रले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । बोर्डले केही दृश्य र संवाद मिलाउन पनि आग्रह गरेको जानकारी प्राप्त छ ।

चलचित्रको नाममा राज्यको हस्तक्षेप यसअघि पनि देखिएको थियो । निर्देशक गणेशदेव पाण्डेले चलचित्र विकास बोर्डमा ‘गाँजाबाजा’ नाम दर्ता गर्न ठूलै संघर्ष गर्नुपर्‍यो । पछि शीर्षकको चन्द्रविन्दू हटाएपछि बोर्डमा चलचित्र दर्ता भएको थियो । गत भदौमा चलचित्र ‘एक भगवात् गीता’को शीर्षकलाई लिएर धार्मिक संस्थाहरुले विवाद निकालेपछि बोर्डको रोहवरमा नामै हेरफेर गर्न लगाइएको थियो ।

‘रङ्गेली’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । रङ्गेली सहरमा राज गर्न चाहने समूहबीचको द्वन्द्वमा आधारित भएर चलचित्र बनेको हो । सेन्सरले शीर्षकमै आपत्ति जनाएपछि चलचित्रको रिलिज अन्योल बनेको छ ।

Leave a Reply

%d bloggers like this: