Mon. Apr 29th, 2024

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो । अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो । खेल सुरु हुनुअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए ।
१५ औं मिनेटमा इस्तानबुलले फ्रिकिक लिएर सुरु भएको खेलमा पिएसजीले २१ औं मिनेटमा नै अग्रता लियो । नेयमारले मार्को भेराट्टीको पासलाई नियन्त्रणमा लिँदै डिफेन्डरलाई नटमेग गरेपछि उत्कृष्ट फिनिस गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा काउन्टर अट्याकमा अघि बढेको पिएसजीका लागि नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एम्बाप्पेको पासलाई गोलमा परिणत गरेका थिए । ४२ औं मिनेटमा एम्बापपे आफैंले गोल गर्दै पहिलो हाफमा नै पिएसजीलाई ३-० को अग्रता दिलाए । नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।
दोस्रो हाफको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे । एन्जल डी मारियाको पासमा ब्राजिलियन नेयमारले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ५७ औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए । एम्बापपेले त्यसको ५ मिनेटमै गोल गर्दै ५-१ को आरामदायी अवस्थामा पुर्याए ।
यस जितसँगै पिएसजी समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । लाइप्जिग र पिएसजी दुवैको ६ खेलमा १२ अंक भएपनि हेड टु हेडमा फ्रान्सेली टोली अघि रहयो । यस समूहमा ९ अंक जोडेको युनाइटेड युरोपा लिगमा पुग्दा इस्तानबुलको यात्रा समूह चरणमा नै सिमित भयो ।

Leave a Reply

%d bloggers like this: