Sun. May 5th, 2024

निर्माण हुन लागेको नयाँ फिल्म ‘चुरीफुरी’ का लागि नवकलाकारको छनौट कार्य अडिसनमार्फत गरिदैछ । निर्देशक ऋषिराज आचार्यले गत कार्तिक ३० मा पहिलो चरणको अडिसन सम्पन्न गरेका थिए । तर पनि कलाकार भनेजस्तै नपाएपछि या आवश्यकता अनुसार नपुगेपछि अब भने दोश्रो चरणको अडिसन यही मंसिर २७ गते गरिने भएको छ ।

कमेडी जनराको फिल्मका लागि नयाँ अनुहारको माग भएकाले अडिसनमार्फत कलाकार छनौट प्रक्रिया थालीएको निर्देशक आचार्यले बताएका छन् । पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नवप्रतिभा सहभागी भएको र त्यसमध्येबाट केही ‘सर्ट लिस्ट’ मा परेको जानकारी उनले दिएका छन् ।

‘अब दोश्रो चरणको अडिसनबाट कलाकार छनौट कार्यले पूर्णता पाउने बिश्वास मलाई छ,’ ऋषिराजले भने । ‘हामीले फिल्म उद्योगमा नयाँ प्रतिभा उजागर गर्नका लागि पनि अडिसन गरेका हौ ।’ उनले आफ्नो फिल्ममा मुख्य तथा सहायक भूमिकामा समेत नयाँ कलाकारलाई मौका दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

दोश्रो चरणको अडिसन आरबि मुभीजको कार्यालय, नारायणगोपाल चोक, चक्रपथमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन चाहने जोकोहीले पनि आरबि मुभीजको कार्यालयमा सम्पर्क राख्न सक्ने बताइएको छ । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट समेत अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

माघ अन्तिमबाट छायांकन थालिने ‘चुरीफुरी’ को निर्माण र लेखन समेत निर्देशक आचार्यकै हो । आचार्यले यसअघि ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: