Tue. Apr 30th, 2024

यस वर्षको प्रतिक्षीत फिल्म ‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । गएको दुई हप्ता अगाडि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक गीत सार्वजनिक गरेको छ ।
‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीतमा मेलिना राईले स्वर भरेकी छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । इमालका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव-नायक अभिषेक नेपाल फिचर्ड छन् ।
कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा स्वस्तिमा आफ्नो प्रेमी अभिषेकलाई फकाइरहेकी छन् । फिल्ममा स्वस्तिमाको बाल्यकालको भूमिका नव-बाल कलाकार सेड्रिना शर्मा र अभिषेकको बाल कलाकार अनुभव रेग्मीले निभाएकी छन् ।
नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
भदौ ८ गते रिलिज हुने फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।
बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् ।

Leave a Reply

%d bloggers like this: