Sun. May 19th, 2024

काठमाडाैं । 
काठमाडौंको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धी सेमिनारका लागि बलिउडका चर्चित फिल्म निर्देशक तथा निर्माता सुभास घई आफ्नो टिमसहित शनिवार नेपाल आएका छन् ।
घईले निर्माण गरेको फिल्म ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी थिइन् । उनी ‘हिरो’, ‘मेरी जंग’, ‘कर्मा’, ‘राम लखन’, ‘खलनायक’, ‘परदेश’ जस्ता फिल्मका निर्देशक हुन् । ‘तक्कारी’ र ‘अराधना’ फिल्ममा उनले छोटो भूमिका समेत निर्वाहा गरेका छन् ।
वर्ष २००६ मा उनलाई सामाजिक फिल्म ‘इकबाल’ का लागि राष्ट्रीय सम्मानबाट पुरस्कृत गरिएको थियो । घईले ‘ऐतराज’, ‘इक़बाल’, ‘चाइना टाउन’, ‘अपना अपना मनी मनी’ जस्ता सुपरहिट फिल्मको निर्माण पनि गरेका छन् ।
लेखक अन्जुम राजाबली पनि घईको टिमसँगै नेपाल आएका छन् । २० जेठमा काठमाडौंको होटल अन्नपूर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त वर्कशपमा नेपाली फिल्म, फेसनलगायतका विषयमा घई र अन्जुमले आफ्नो अनुभव साट्नेछन् । कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले उक्त कार्यशाला फिल्ममा आफ्नो भविष्य खोज्दै गरेका जो-कोहिँका लागि ठूलो अवसर रहेको बताए ।
कार्यशाला मिडिया नलेज, स्कृप्ट राईटिङ्ग, मोवाईल फिल्म मेकिङ्ग र फेसन डिजाइनमा केन्द्रित हुने बताइएको छ । उक्त वर्कशपमा निर्देशक घईसँगै अन्य विधाका विज्ञहरु स्कृप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का मेनेजिङ डिरेक्टर राहुल पुरी र नेपालबाट दिनेश डिसी सहभागी हुनेछन् ।

Leave a Reply

%d bloggers like this: