Mon. Apr 29th, 2024
 शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले  बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन सबैतिर हाउसफूल दर्शक भित्राएको फिल्मले देशभरबाट कूल ७८ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त भएको छ ।
 काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले प्रदर्शनको दिन उपत्यका भित्रबाट ‘ए मेरो हजुर २’ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको जानकारी दिए । यस्तै, मोफसल वितरणको जिम्मा लिएका केदार पराजुलीले उपत्यका बाहिरबाट फिल्मले ३३ लाख २१ हजार कलेक्सन गरेको फिल्मीखबर डटकमसँगको कुराकानीमा बताए । प्रदर्शनको पहिलो दिन उपत्यका भित्र र बाहिर गरि फिल्मले कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ कलेक्सन गरेको छ ।
 आज शनिवार सार्वजनिक विदा भएका कारण सिंगल र मल्टिप्लेक्समा विहानैदेखि दर्शकको थामिनसक्नुको भिड देखिएको छ । मोर्निंग शो मा फिल्मको टिकेट नपाएर दर्शकहरुले आक्रोस जनाई रहेका छन् l  काठमाडौंका मल्टिप्लेक्समा शुक्रवार साँझ नै शनिवारका लागि सबै शोको टिकट सोल्ड आउट भैसकेको छ । यस्तै, गोपीकृष्ण मुभीज र अष्टनारायणको ४ वटा पर्दामा विहानकै शोमा दर्शक भरिभराउ छन् । गुण, गंगा, कलंकीमा पनि ए मेरो हजुर २ हेर्ने दर्शकको उपस्थिती थामिनसक्नुको रहेको वितरक गोविन्द शाहीले जानकारी दिए ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Leave a Reply

%d bloggers like this: