Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गरिएको छ ।
चलचित्र विकास वोर्डमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा विकास वोर्ड अध्यक्षराजकुमार राईले जुरीले छनोट गरेका ७ विधामा विजेताहरु तथा एक आदिवासी फिल्म र जुरीको तर्फबाट प्रदान गरिने विशेष पुरस्कार विजेताको नाम सार्वजनिक गरियो ।
पछिल्लो बर्ष २०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्ट फिल्ममा ‘पशुपतिप्रसाद’ परेको छ भने पशुपतिप्रसादबाट नै लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट बने । त्यस्तै सोहि फिल्मबाट उत्कृष्ट निर्देशकको पुरस्कार पनि दिपेन्द्र के खनालको पोल्टामा परेको छ ।
त्यस्तै उत्कृष्ट अभिनेतामा कबड्डी कबड्डी फिल्मबाट दयाहाङ राई परेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट कहलिँदा छायाँकनमा ‘ड्रिम्स’बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारेका छन् । सम्पादन तर्फ ‘क्लासिक’ फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट कहलिएका छन् ।
आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म ‘यम्फु देवराली’ उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कारको हकदार नव निर्देशकमा भुवन केसी बनेका छन् ।
यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषाललाई जनही ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो ।
बिहिबार साँझ ५ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष कार्यक्रमका बीच उत्कृष्ट सबै बिधामा फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिनेछ । रमेश बुढाथोकी संयोजकत्वको लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशिल पौडेल र करुण थापा सहितको निर्णायक टिमले बर्ष २०७२ मा प्रदर्शनमा आएका फिल्म मध्वेबाट उत्कृष्ट फिल्मको छनोट गरेको हो ।

%d bloggers like this: