Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
राजधानीको भृकुटीमण्डप यति बेला पुस्तक पारखीका लागि केन्द्र बनेको छ ।
पुस्तक मात्रै नभई साहित्यिक अन्तरक्रिया, स्रष्टा भेटघाट, हस्ताक्षर लगायतका गतिविधिले प्रदर्शनी मार्गस्थित एक्जिबिसन हलको माहोल रचनात्मक बनिरहेको छ । शुक्रबारदेखि यहाँ जारी २० औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आफूले चाहेका पुस्तक खोज्न पारखीहरू धाइरहेका छन् ।
प्रदर्शनीको चौथो दिन सोमबार ‘पठन संस्कृति’ अन्तरक्रियामा अभिनेत्री गौरी मल्ल सवाल–जवाफ क्रममा थिइन् । उनले अध्ययनकै कारण आफूले कला क्षेत्रमा प्रवेश पाएको अनुभव सुनाइन् ।
‘मेरो वाचन गर्ने शैली पनि राम्रो थियो,’ अनिल शाहसँगको अन्तरक्रियामा उनले भनिन्, ‘यतिसम्म कि कक्षामा सरहरूले सधैं नाटक र कथा पढ्न लगाउनुहुन्थ्यो । पढ्ने बानीले जीवनमा धेरै परिवर्तन ल्याउने रहेछ ।’
अध्ययनले आत्मविश्वास बढाउने र यही कारण आफूले पहिलो फिल्म ‘सन्तान’ मा काम गर्ने अवसर पाएको उनले खुलाइन् । ‘अनुहार त मेरो खासै राम्रो थिएन,’ उनले भनिन्, ‘तर आत्मविश्वासका साथ संवाद प्रस्तुत गर्दा म छानिएँ ।’
अहिलेसम्म पढेका कृतिमध्ये चाहिँ उनले रुसी साहित्यकार म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ सँगै ‘महाभारत’ को सन्दर्भ उक्काइन् । ‘महाभारतमा कृष्णको चरित्र र आमाको पावेलको चरित्रबाट म निकै प्रभावित छु,’ उनले भनिन् ।
आफ्ना सन्तानलाई यो वा त्यो किताब पढ भन्दै दबाब दिनुको सट्टा पहिले पढ्ने बानी बसाउनुपर्ने उनको सुझाव थियो । ‘बानी बसेपछि आफैं खोजीखोजी पढ्छन्,’ उनले भनिन् ।
उमेरले चार दशक नाघेकाले आफू चाहिँ यति बेला रमाइलोभन्दा पनि बिस्तारै आध्यात्मिक र खोजमूलक पुस्तकतिर रम्न थालेको उनले बताइन् ।
बैंकर शाहले पनि पढ्ने बानीकै कारण आफू बैकिङ क्षेत्रमा आएको बताए ।
प्रदर्शनी स्थलमा स्वदेशी र विदेशी गरेर ६० भन्दा बढी प्रकाशक तथा वितरकहरूले एक सयभन्दा बढी स्टल राखेका छन् । ‘पढ्नलाई प्रेरणा’ नारा दिइएको प्रदर्शनी उत्साहजनक रहेको आयोजक ग्लोबल एक्स्पोजिसनका कार्यकारी निर्देशक सन्तोष छेत्रीले जनाए ।
‘आगन्तुकहरूको सुविधाका लागि सधैंझैं यसपालि पनि नाम चलेका विभिन्न विदेशी प्रकाशकहरूका किताब पनि राखेका छौं,’ निर्देशक छेत्रीले भने ।
उनका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, पेन्गुइन, रेन्डम बुक हाउस, टेलर एन्ड फ्रान्सेस, न्यु एज इन्टरनेसनलजस्ता विश्वमै चर्चित प्रकाशकका स्टल पनि छन् । ‘नेपाली प्रकाशकहरू त छुट्ने कुरै भएन,’ उनले भने, ‘साहित्य, संस्कृति, समाज, विज्ञान, दर्शन, बालबालिका, महिला, राजनीति, जीवनशैली, कला लगायत दर्जनौं विधाका पुस्तकहरू राखिएका छन् ।’
यो प्रदर्शनी दुई दशकअघिदेखि नियमित रूपमा हुँदै आएको छ । शुक्रबार सभामुख ओनसरी घर्तीद्वारा उद्घाटित प्रदर्शनीमा साहित्यकार गीताकेशरी, माया ठकुरी र पद्मावती सिंहलाई ‘राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको थियो ।

%d bloggers like this: