Fri. May 17th, 2024

चर्चित निर्देशक स्व.आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ । काठमाण्डु जेसिसले राजधानीको दरबारमार्गस्थित क्यू एस सिनेमाजमा च्यारिटीको गरेको हो । काठमाण्डु जेसिसले उक्त च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने जनाएको छ । चलचित्रकी निर्माता पुनम गौतम सहित कलाकारहरु पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगाएतको उपस्थिती रहेको उक्त च्यारिटी कार्यक्रममा प्रमूख अतिथीको रुपमा उर्जा मन्त्री राधा ज्ञवालीको उपस्थिती रहेको थियो ।

साथै, नेपाल जेसिसका अध्यक्ष धननञ्जय श्रेष्ठको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै निर्माता पुनम गौतमले ‘अझै पनि’ हरेक नेपालीले हेर्नैपर्ने चलचित्र भएको बताउँदै व्यक्तिगत रुपमा भन्दा संस्थागत रुपमा च्यारिटीमा जानु उपयुक्त ठानेकोले आफुले जेसिसलाई रोजेको बताईन् । धेरै मेहनत गरेर चलचित्र बनाएको बताउँदै गौतमले आफ्नो पहिलो चलचित्र समाजको लागी बनाएको र यसले व्यापारिक भन्दा बढि सामाजिक सुशासनको महत्व रहेकोले च्यारिटीमा ध्यान दिएको बताईन् । उनले अब अर्को चलचित्र पनि समाज भित्रकै कथामा आधारित रहेको बनाउने बताईन् ।

jci-charity-2

नेपाल जेसिसका अध्यक्ष धननञ्जय श्रेष्ठ आफुलाई चलचित्रको हिरो हुने रहर रहेको तर हुन नसकेपनि नेपाली चलचित्रलाई अति नै माया गर्ने बताए । नेपाल जेसिसले देशैभर च्यारिटी गर्ने बताउँदै श्रेष्ठले ‘अझै पनि’ सामाजिक कथामा बनेकोले जेसिस पनि समाजकै लागी काम गर्ने संस्था भएकोले च्यारिटीको लागी रोजिएको बताए । काठमाण्डु जेसिसका अध्यक्ष गणेश पौडेलले च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने बताए । उर्जा मन्त्री राधा ज्ञवालीले नेपाली चलचित्र पनि विदेशी चलचित्र जत्तिकै गुणस्तरिय रहेको बताउँदै ‘अझै पनि’लाई जेसिसले च्यारिटी गरेकोमा खुशी व्यक्त गरिन् । ‘अझै पनि’ सामाजिक प्रेमकथालाई अगाडी बढाउँदै नारीको महत्व र विभिन्न रुपलाई कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र हो ।

पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले लेखेका हुन् । महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेका यस चलचित्रका पाँचवटै गीतले उत्तिकै चर्चा कमाएका छन् । संगीतको पाटो उत्कृष्ट रहेको ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

%d bloggers like this: