Fri. Apr 26th, 2024

गत महिना मुम्बईमा आयोजित एक पार्टीमा बलिउड अभिनेताद्वय सलमान खान र शाहरुख खानले पाँच वर्ष लामो तिक्तता भुल्दै एकअर्कालाई अँगालो हाले । पाँच वर्षअघि सलमानकी त्यतिबेलाकी गर्लफ्रेन्ड कट्रिना कैफको बर्थडे पार्टीमा दुवैले एकअर्कालाई छेडखानी गरेपछि उनीहरूबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।
त्यो घटनापछि धेरैले आशंका गरेका थिए– दुई खानबीच अब कहिल्यै नपुरिने खाडल खनियो । तर, मुम्बईका एक नेताले पाँचतारे होटलमा आयोजना गरेको पार्टीमा दुवैले बिनासंंकोच एकअर्कालाई अँगालो हालेर कटु अतीत बिर्सिएको छनक दिन खोजे । सम्बन्ध सुधारको यो कडीलाई शाहरुख खानले थप अघि बढाउन चाहेका छन् । एक टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले आफूहरू दुवैजना ‘मजाले हुर्किएर परिपक्व’ भइसकेको बताउँलै केटाकेटी पारामा एकअर्काको बदख्वाइँ गर्ने सम्भावना बाँकी नरहेको जिकिर गरेका छन् ।
अन्तरवार्तामा उनले भनेका छन्, ‘सलमानसामु म झुक्ने अथवा उसलाई झुकाउने भन्ने प्रश्न अब बाँकी छैन । दुईतीन वर्षअघि यस्तो सोच हामीमा थियो पनि होला । तर, अहिले हामी म्याचुअर भइसकेका छौँ ।’
शाहरुखलाई सलमान परिवारको सदस्यझैँ लाग्ने र उनलाई साथीका रूपमा मात्र नभई ‘स्टार’ र कलाकारका रूपमा समेत आफूले सम्मान गर्ने गरेको शाहरुखले बताए । ‘भलै, म सिनियर हुँ, तर बलिउडमा प्रवेश गर्दा उनले मलाई सहयोग गरेका थिए,’ फिल्मी करिअरको सुरुवाती दिनमा सलमानले लगाएको गुन सम्झिँदै शाहरुखले भने ।
दुवै खानबीच कटुताको लामो शृंखला चल्यो । पाँच वर्षअघि कट्रिना कैफको बर्थडे पार्टीमा उनीहरूको सम्बन्ध छताछुल्ल भयो । पार्टीमा भेट हुनासाथ दुवैले घुमाउरो पारामा एकअर्कालाई छेड हान्न थाले । रक्सीको मात चढ्दै गएपछि एकअर्काको खिसीटिउरी गर्ने क्रम तीव्र भयो । सलमानको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘मै और मिसेस खन्ना’मा अतिथि भूमिका निर्वाह गर्न गरेको अनुरोधलाई शाहरुखले ‘अहिले व्यस्त छु’ भन्दै पन्छाएपछि सलमान उनीसँग रुष्ट थिए, जब कि शाहरुखको ‘ओम शान्ति ओम’ फिल्मको एउटा गीतमा सलमानले छोटो नृत्य गरेका थिए । त्यसैले सलमान शाहरुखसँग आगो भएका थिए ।
अर्काेतिर फ्लप फिल्मका कारण सलमान त्यतिबेला अलिक क्लान्त र निराश थिए । ‘मे और मिसेस खन्ना’ सफल हुन नसके पनि सलमानको टेलिभिजन सो ‘दशका दम’ले शाहरुखको ‘क्या आप पाँचवी पास से तेज है’लाई पछि पारेको थियो । यही प्रसंग झिकेर पार्टीमा सलमानले शाहरुखलाई होच्याउन थाले । शाहरुखले पनि सलमानको फ्लप फिल्मलाई नजिरका रूपमा पेस गर्दै घोचपेच गर्न थाले । वाक्युद्ध बढ्दै जाँदा शाहरुखले सलमानकी पूर्वप्रेमिका ऐश्वर्या रायको प्रसंग झिकेर सलमानलाई परित्यक्त व्यक्तिका रूपमा चित्रण गर्न खोजे । रक्सीले मात्तिएका सलमानले यो अपमान सहन सकेनन् र शाहरुखसँग हात हालाहाल गर्न तम्सिए । धन्न, छेवैमा रहेका आमिर खान, कट्रिना र शाहरुख पत्नी गौरीले दुवैलाई सम्हाले ।
फिल्म ‘करन अर्जुन’मा दाजुभाइको भूमिकामा देखापरेका दुई खानबीचको सम्बन्ध आरम्भमा निकै सुमधुर थियो । समयक्रमसँगै दुईबीच दरार उत्पन्न भयो । सलमानले ‘शाहरुख र म कहिल्यै साथी बन्न सक्दैनौँ’ भन्न थाले भने शाहरुखले ‘सलमान र म बोल्दैनौँ’ भनी आफ्ना निकटवर्तीलाई सुनाउनथाले । एक सार्वजनिक कार्यक्रममा सलमानले ‘शाहरुखका संघर्षका दिनमा उसले मलाई ‘बन्धु’ भन्ने गथ्र्याे र ‘सर, सर’ भन्दै मेरो वरिपरि घुमिरहन्थ्यो,’ भनेका थिए ।
दुवै खान ४७ वर्षमा हिँडिरहेका छन् । ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘हर दिल जो प्यार करेगा’, ‘हम तुम्हारे है सनम’ मा उनीहरूले सँगै काम गरेका छन् ।
उनीहरूबीचको सम्बन्धमा भएको हालको सुधारलाई शाहरुख निकट कलाकार चंकी पाण्डेले ‘हुनैपर्ने घटना’को संज्ञा दिए पनि दुईबीचको सम्बन्ध लामो समयसम्म स्थिर रहनसक्नेमा धेरैको आशंका छ ।

%d bloggers like this: