Sat. May 18th, 2024

काठमाडौँ । नेपाली चलचित्रमा कान्छी निर्मात्रीको परिचय बनाएकी कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र ‘ऐँचो पैँचो’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पूर्णरुपमा व्यावसायिक भनिएको चलचित्रको सार्वजनिक श्रव्यदृश्यमा राजनीतिलाई देखाइएको छ । सामाजिक सञ्जालमा राजनीतिमै केन्द्रित चलचित्र भन्नेबारे चर्चा हुन थालेपछि निर्देशक चौलागाईंले त्यस्तो नरहेको बताइन् ।

“हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ”, निर्देशक चौलागाईंले भनिन् । चलचित्रसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले निर्मात्री हुँदै निर्देशनसम्मको यात्रा एकल प्रयासमा सम्भव नभएको बताइन् ।

उनले भनिन्, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।”

चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, “मैले राजनीतिलाई सुरुआती दिनमा देख्दा र बुझ्दा फरक सोच्थे । अहिले मेरो सोचाइमा फरक छ । यसले राजनीतिभन्दा पनि त्यसले समाज र परिवारमा परिरहेको प्रभावलाई देखाएको छ ।”

उनले राजनीतिज्ञलाई चलचित्र भवनमै गएर हेरिदिनसमेत आग्रह गरिन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् ।

यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ संयोजन, विपीन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: