Sun. May 19th, 2024

काठमाडाैँ। नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने भएको छ ।

अवार्डको मूल नारा नै ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ । न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा अवार्ड आयोजना हुन लागेको होस्ट अर्गनाइजर संस्था ड्रीम्स युनिभर्सल एलएलसीका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।

उक्त संस्थाको आयोजनामा गत शनिबार न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका ब्युटी पेजेन्ट सम्पन्न भैसकेको छ । सौन्दर्य प्रतियोगिता लगत्तै ड्रीम्स युनिभर्सल एलएलसी अवार्ड आयोजना गर्न कस्सिएको हो ।

अवार्ड आयोजकको रूपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसी छन् । अवार्डका अघिल्ला पाँच संस्करण अमेरिकाकै कोलोराडो र सनफ्रान्सिस्कोमा आयोजना भएका थिए ।

अवार्ड आयोजनाबारे ड्रीम्स युनिभर्सल एलएलसीका अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु अवार्डको मुख्य उद्देश्य हो । अवार्डलाई भव्य र सभ्य बनाउन हामी लागिपरेका छौं ।’

अमेरिकामा बसोबास गर्ने नेपालीलाई पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकनको गन्तव्यस्थलको रुपमा प्रचार गर्ने उद्देश्यले पनि कार्यक्रम हुन लागेको अध्यक्ष श्रेष्ठले बताए । अवार्डको लागि फिल्म छनोट समिति गठन भइसकेको छ ।

अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित कलाकारहरु नीर शाह, शिव श्रेष्ठ, सुनिल थापा, कृष्ण मल्ल, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरे लगायतका सहभागि हुने समेत जनाइएको छ ।

साथै अमेरिकामा रहेका अन्य कलाकार पनि अवार्डमा सहभागि हुने आयोजकले जनाएको छ । अवार्डको संरक्षकको रुपमा आयोजक समेत रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र ग्लोबल फिल्म अवार्डको अध्यक्ष नवराज श्रेष्ठ छन् । – अनलाइनखबर

Leave a Reply

%d bloggers like this: