Sat. May 18th, 2024

कन्चनपुर । पन्ध्र वर्षको उमेरमै बुबाआमा गुमाएपछि टुहुरो बनेका बझाङ खप्तड छान्ना गाउँपालिका देहलीका भीम थापा धनगढी झरे । किशोरावस्थामै अभिभावक गुमाएपछि दाजु वीरबहादुर थापाको आश्रयमा अध्ययनसँगै करिब ६ वर्ष अध्यापनमासमेत खर्चिएका थापा विगत २२ वर्षदेखि भने सुदूरपश्चिममा देउडा, आधुनिक र लोकदोहोरी गीतका साथै कुमाउँनी गीतमा म्युजिक भिडियोमा निर्देशन गर्ने पाका निर्देशक हुन् ।

धनगढीमै छँदा सङ्गीत क्षेत्रमा २०५० को दशकमा लागेका थापाले २०५८ सालदेखि व्यावसायिक रुपमा म्युजिक भिडियो निर्देशन गर्दै आइरहेका छन् । म्युजिक भिडियो छायाङ्कनका क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्ला र भारतको कुमाउँ, गढवाल, नैनीताल, पिथौरागढ, लुहाघाट लगायतका क्षेत्रमासमेत पुगिसकेका थापाले दुई दशकको अवधिमा धेरै गीतमा म्युजिक भिडियो निर्देशन गरिसकेको बताए ।

‘काठमाडौंमा दुई वर्ष निर्देशन सिकेपछि आफ्नै ठाउँ, परिवेश, कला, संस्कृतिको संरक्षण र ज्ञान अनुभव लिन सुदूरपश्चिम फर्किएपछि निर्देशनमा लागेँ, यहाँ खप्तड डिजिटल म्युजिक सेन्टर र खप्तड फिलिम्समा पनि आवद्ध छु’, उनले भने । यहाँका भाषिक चलचित्रका कोरियोग्राफ समेत गरेका ४४ वर्षीय थापाले विगत भन्दा अहिले म्युजिक भिडियो छायाकङ्न र निर्देशनमा डिजिटल क्षेत्रमा भएको फड्कोले सहज भएको बताए ।

‘दुई दशकअघि सुदूरको देउडालाई भिडियोमा ल्याउने कामको शुरुवात गरे, त्यो बेला सुदूरमा देउडा गीतमा म्युजिक भिडियो यही बनाउने माहोल नै थिएन’, उनले भने । ‘हामीले सुरुवात गर्दा एउटा म्युजिक भिडियो बनाउन पाँच÷छ दिनसम्म समय लाग्थ्यो, अहिले त प्रविधिको विकासले एकै दिनमा दुई वटासम्म म्युजिक भिडियो बनाउन सकिने भयो’, थापाले भने । उनले २०५८ सालतिर म्युजिक भिडियो छायाकङ्नमा महिला कलाकार पाउनै मुस्किल हुने गरेको बताए ।

 

‘पहाडमा देउडा गीतमा छायाकङ्न गर्दा यहाँको त्यो बेलाको पछैटेपनका कारण दुव्र्यवहार पनि सहनुपरेको थियो, अहिले त सोचदेखि लगानी गर्ने वातावरण पनि विकास भएको छ’, उनले भने । उनले निर्देशनका शुरुवातमा पाँचसय देखि एक हजारसम्म पारिश्रमिक पाए पनि अहिले गीत हेरेर, कलाकारको अवस्था र लगानीको पाटो हेरेर पारिश्रमिक लिने गरेको जानकारी दिए ।

 

‘सुदूरपश्चिमकै सरोफेरोमा रहेर म्युजिक भिडियो निर्देशन गर्दैगर्दा हाम्रो कला, संस्कृति र पहिचान सिक्ने अवसर पनि पाएँ, कलाकारिताबाट आएको पारिश्रमिकबाटै तीन छोराछोरी काठमाडौंमा पढाउन सकेको छु’, थापाले भने । विभिन्न पुरस्कारबाट पुरस्कृत भएका थापाले व्यावसायिक रुपमा कलाकारितामा सक्रिय रहे सफलता हासिल गर्न सकिने बताए । ‘परम्परागत रीतिरिवाज र संस्कृतिसित जोडिएको फाँटमा काम गर्न आनन्द नै आउछ, देउडा गीतमा सुरुवातमा छायाकङ्न गर्दाको दुखः अहिले व्यक्त गरेर सम्भव नै छैन्’, उनले भने ।

आफू छ/सात महिनाको हुँदा बुबा र पन्ध्र वर्षको हुँदा आमा गुमाएका थापाको मुख्य कर्म नै म्युजिक भिडियो निर्देशन हो । ‘काठमाडौंमा निर्देशन सिकेपछि सुदूरमा छायाकङ्नको संस्कार नै छैन यतै बस् भन्ने पनि थिए, गृह प्रदेश फर्किएर मेहनत गर्दा म्युजिक भिडियोमार्फत सुदूरलाई छुट्टै रुपमा चिनाउन पनि सक्यौँ’, उनले भने ।

त्यसैगरी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कन्चनपुरका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामीले सुदूरपश्चिममै अनुभवी निर्देशक पाउँदा म्युजिक भिडियो बजारमा ल्याउन सहज र कम खर्चिलो भएको बताए । ‘मौलिक देउडाको निर्देशन सबैले गर्न सक्दैन्, त्यसका लागि अनुभवी र वास्तविकता बुझेको हुनुपर्छ’, अध्यक्ष धामीले भने । उनले निर्देशक थापाको लामो अनुभव र सक्रियताका कारण सुदूरपश्चिमको कला संस्कृति जगर्नेमा टेवा पुगेको बताए ।

Leave a Reply

%d bloggers like this: