Sat. May 4th, 2024

काठमाडाैँ। वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ ।

मन्त्रालयले सम्पादन गरेको कार्य तथा उपलब्धि र आगामी कार्यदिशाबारेमा प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । साथै मन्त्रालयले चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्रबाट दिइएको जानकारीका आधारमा चितवन, मकवानपुर जिल्लाका व्यवसायीलाई सेवा प्रवाह गर्ने, वाग्मती प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न छायाङ्कन गर्ने, चलचित्रलाई सूचक र मापदण्ड बनाउने कार्य अगाडि बढेको जनाएको छ ।

मन्त्रालयका सचिव मदन कोइरालाबाट प्राप्त प्रतिवेदन एवम् जानकारीअनुसार मकवानपुरगढीलाई बृहत् पर्यटन विकास गरिनेछ । त्यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारको समन्वयमा साहसिक जलयात्रालाई महत्वपूर्ण नदी संरक्षण क्षेत्र घोषणा र कम्तीमा दुईवटा बृहत् पर्यटन महोत्सव गर्ने प्रतिवेदनमा उल्लेख छ ।

निजी क्षेत्रको सहकार्यमा भारतीय पर्यटक लक्षित पर्यटक यातायात सञ्चालन (वीरगञ्जबाट सुरुआत गर्ने), वाग्मती प्रदेशमा रहेका लोपोन्मुख भाषा, कला र संस्कृतिको अभिलेखीकरण र संरक्षण, पर्यटकीयस्थल एवम् गतिविधिको प्रचारप्रसारमा बढोत्तरी गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । प्राप्त विवरणमा नयाँ पर्यटकीय मार्ग निर्माण गर्ने कार्य प्रारम्भ भएको, रसुवा–४ गोसाइँकुण्ड क्याङ्गजिङ्गमा हाई हिमालय नेचुरल वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु गरिएको उल्लेख छ ।

काठमाडाँै उपत्यकामा सम्पदा पदमार्गको निर्माण सुरु गरिएको, ‘राइनो चिल्ड्रेन पार्क’ भरतपुर चितवनमा निर्माण अगाडि बढेको, हिमाल आरोहीका लागि प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको छ । मन्त्रालयले गरेको महत्वपूर्ण काममा प्रदेश पर्यटन ऐन, २०७८ जारी, त्यसमा पर्यटन व्यवसायी एवम् सरोकारवालाको मागलाई समेत ध्यानमा राखी हेरफेर, प्रदेश पर्यटन नीतिको मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ को मस्यौदा तयार भइरहेको उल्लेख गरिएको छ ।

पर्यटकीय तारे होटल, लज, रिसोर्ट, पब, लाउन्ज, होमस्टेको वर्गीकरण गरी स्तर निर्धारण समिति गठन गरी प्रतिवेदन प्राप्त भइसकेको र आन्तरिक पर्यटनलाई चलायमान बनाउन घुमफिर वर्ष चितवनको सौराहाबाट प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले इको टुरिज्मको विकास, कम्तीमा एउटा पर्यटन र धार्मिक पर्यटनको गौरवका आयोजना सञ्चालन गर्ने, पर्यटकीय पूर्वाधार पुग्नका लागि पहुँच मार्ग निमार्णको स्तरोन्नति गर्ने कार्य आगामी योजनामा राखिएको बताइएको छ । वसन्तपुर, स्वयम्भू, पाटन, भक्तपुर लगायतका स्थानमा निजी क्षेत्रको सहकार्यमा ठूला पर्यटकीय पूर्वाधारको निर्माण गर्ने योजना छ ।

Leave a Reply

%d bloggers like this: