Fri. May 17th, 2024

काठमाडाैँ । थ्री नेसन्स कप २०२१ अन्तर्गत बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको २३ वर्ष उमेरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल बिहीबार साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरू हुनेछ ।
थ्री नेसन्स कपका लागि एन्फाले बुधबार नै २३ सदस्यीय फुटबल टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास समेटिएका छन् ।
त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।
जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिताअन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ । प्रतियागिताको आयोजना एन्फाले गरेको हो । यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।
त्यस्तै, नेपालले यही प्रतियोगिताको अर्को खेल शनिबार बंगलादेशसँग खेल्नेछ ।

Leave a Reply

%d bloggers like this: