Fri. May 3rd, 2024

अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद अन्ततः टुंगिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीचको विवाद समाधान भएको हो ।
पत्रकार सुवेदी र अभिनेत्री शर्माबीच भएको सहमति पत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् । पत्रकार सुवेदीले सञ्चालन गर्ने कार्यक्रम ‘रजतपट’ लाई लिएर भएका असहमति, उजुर बाजुरलगायतलाई अन्त्य गर्ने पनि उनीहरुबीच सहमती भएको छ ।
सहमति पत्रमा भनिएको छ, ‘भविष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आ-आफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानुन र पेशागत आचार संहिताको परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष संवेदनशिल र सचेत रहने ।’ दुईबीचको विवाद वार्ताबाट टुंगिएकोमा फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।
‘रजतपट’ कार्यक्रममा आफूलाई लक्षित गरेर अपमानजनक शब्द बोलेको भन्दै पूजाले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थामा पत्रकार सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । आफूले बोलेको शब्दलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि पत्रकार सुवेदीले एक भिडियोमार्फत् माफी मागेका थिए । तर, पूजाले लिखित रुपमा माफी माग्नु पर्ने अडान राख्दै आएकी थिइन् ।
पत्रकार सुवेदीसँग सहमति पत्रमा हस्ताक्षर गरेपछि अभिनेत्री पूजाले फेसबुकमा एक स्टाटस लेख्दै आफूले शान्ति चाहेका कारण माफी दिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफी दिन लायक छन् भनेर अरुलाई माफी दिने होइन । यो यसकारण कि तपाईं शान्तिको लायक हुनुहुन्छ ।’ गएको दुई हप्तादेखि पूजा र पत्रकार सुवेदीबीचको विवादले फिल्म क्षेत्र तातेको थियो ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: