Sun. May 19th, 2024

काठमाडाैं।
पछिल्लो समयमा चलचित्र, कथा, उपन्यास र लेखमा बादी समुदायलाई नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै उनीहरुले चित्त दुखाएका छन् । चर्चित उपन्यास नथियासहितका कथा, उपन्यास, लेख र चलचित्रमा बादी समुदायलाई नकारात्मक असर पर्ने शब्दको प्रयोग भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
मदन पुरस्कारका लागि सिफारिस भएको सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ मा प्रयोग भएका कतिपय शब्दले बादी समुदायको अपमान गरिएको आरोप उनीहरुको छ ।
बादी समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दको प्रयोग उपन्यासमा भएको उनीहरुको आरोप छ । उपन्यास, लेख, रचना र चलचित्रमा समुदायलाई प्रत्यक्ष असर हुने बदेनी, पातर, रण्डी र रखेल प्रयोग भएका छन् ।
विवेक ओझाद्धारा लिखित ‘ऐलानी’, थमनकुमार बुढाथोकीले निर्माण गरेको ‘पण्डित बाजेको लौरी’ चलचित्रमा पनि बादी समुदायलाई होच्याउने शब्दको प्रयोग भएको पाइएको छ ।  नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले बादी समुदायलाई अपमानित गर्ने शब्द हटाउन र चलचित्रको प्रर्दशन रोक्न माग गरेका छन् ।
राष्ट्रिय बादी परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले नथिया, ऐलानी र पण्डित बाजेको लौरीमा प्रयोग भएका बादी समुदायलाई अपमानित गर्ने शब्द बताउँदै तत्काल संशोधन गर्न माग गरेका छन् ।
कलंक र नकारात्मक प्रभावबाट छुटकारा पाई सम्मानित जीवनप्रति अग्रसर भइरहेका बादी समुदायप्रति उपन्यास र चलचित्र मार्फत पुनः अपमानित गर्न खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्  । बादी समुदायलाई ठेस पुग्ने गरी बनाएका चलचित्र र लेखिएका पुस्तक तत्काल संशोधन माग गरिएको छ ।
सरकारले २०६५ साल पुस २३ गते बादी समुदायमा भइरहेको यौन शोषण (बादी प्रथा) को उन्मुलनको घोषणा गरेको थियो । निको भइसकेको घाउमा पछिल्ला चलचित्र, उपन्यास र कथाले नुनचुक लगाउने काम गरेको बादी परिषदका अध्यक्ष नेपालीले बताए ।
समाजमा प्रतिस्थापना भई सम्मानित जीवनयापनप्रति उन्मुख रहेको अवस्थामा बादी समुदायको केही परिवारमा देखिएको यौन शोषणलाई आधार बनाई केही निर्माता, लेखकले पुनः बादीप्रति लान्छाना, भेदभाव र शोषण गरेको उनीहरुको आरोप छ ।
चलचित्र निर्माता भण्डारीसँग बादी जातिको संवेदनशिलतालाई हेरेर फिल्म प्रर्दशन स्थागित गर्न माग गरिएको छ भने नथियाकी लेखक सरस्वती प्रतिक्षा र ऐलानीका लेखक विवेक ओझालाई किताब तथा उपन्यासमा उल्लेख भएका आपत्तिजनक र ठेस पुग्ने शब्द यथाशिघ्र संशोधन गरी अर्को संस्करण प्रकाशित गर्न माग गरेका छन् ।
चलचित्र प्रर्दशन स्थगित तथा उपन्यासको संस्करण यथाशिघ्र नभएमा सरकारी निकायबाट रोक्न र बन्देज लगाउन नेपाल सरकारसँग समेत उनीहरुले माग गरेका छन् ।
बादी समुदायकोतर्फबाट अध्यक्ष केशव नेपाली र महासचिव सुकलाल नेपालीद्वारा जारी प्रेस विज्ञप्तिमा बादी समुदायको मागप्रति वास्ता नगरी चलचित्र प्रर्दशन भएमा वा किताब उपन्यास संशोधन नभएमा सबै बादी समुदाय सामुदायिक लान्छाना विभेदविरुद्ध जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने उल्लेख गरिएको छ ।

अन्नपूर्णपाेस्टबाट

Leave a Reply

%d bloggers like this: