Mon. May 20th, 2024

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि चलचित्रको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ ।

अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ । दयाहाङ चलचित्रको बाँकी छायांकनका लागि २०-२२ गतेसम्ममा नेपाल फर्किनेछन् ।

दयाहाङ नेपाल आएपछि चलचित्र छायांकनका लागि ललितपुरपछि पाँचथर पुग्नेछन् । यस वर्षको ब्लकबस्टर चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा यो चलचित्रका निर्देशक हुन् । कबि हुँदै चलचित्र लेखनबाट निर्देशनमा होमिएका सुब्बाको ‘मनसरा’लाई प्रतिक्षित चलचित्रको सूचिमा राखिएको छ ।

चलचित्रले ‘जारी’ले जस्तै अर्गानिक कथा पस्किने बताइएको छ । चलचित्रमा सुब्बाले चलचित्रका छायाँकार शैलेन्द्र ध्वज कार्कीसँग निर्माण सहकार्य गरिरहेका छन् । छायाँकार कार्कीले चलचित्रको हाल योजना अनुसारको काम भइरहेको बताउँदै दयाहाङ नेपाल फर्किएपछि ७-१० दिनमा चलचित्रको छायांकन सम्पन्न हुने जानकारी दिए ।

यसैगरी निर्देशक सुब्बाले जाडोको मौसम भएपनि चलचित्रको छायांकन सोचअनुसार भैइरहेको बताए । उनले चलचित्रलाई उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ । चलचित्र वैशाख २१ मा रिलिज हुनेछ । चलचित्रको थिएटर पार्टनर क्यूएफएक्स रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रमा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

Leave a Reply

%d bloggers like this: