Sat. Jun 25th, 2022

टेलिभिजनका दर्शकलाई थाहा छ– शंकर बीसीको अनुहार एकैदिनमा कतिपल्ट दोहोरिन्छ । तीजको सिजन आयो भने त जताततै ‘शंकरै शंकर’ ! उन्नाइस वर्षदेखि नृत्य क्षेत्रमा सक्रिय शंकरले ४५ वटा फिल्ममा कोरियोग्राफी गरेका छन्, नौ सय वटा म्युजिक भिडियोमा नाचेका छन् र १५ सय म्युजिक भिडियो निर्देशन गरेका छन् ।
दिनरात वान, टु, थ्री, फोर गर्दा वाक्क लाग्दैन ?
लाग्दैन । नाच्नकै लागि जन्मिएछु क्यारे । जति नाचे पनि वाक्क लाग्दैन । फेरि, म तनाव लिएर, झर्को मान्दै काम गर्ने खालको छैन । साथीभाइसँग जिस्किँदै, हाँस्दै–हसाउँदै काम गर्छु । रिहर्सल, सुटिङ गर्दा रमाइलो हुन्छ ।
हास्य कलाकार हुने सम्पूर्ण गुण छन् रे नि तपाईंमा ?
अरूलाई हँसाउन सक्छु । लगभग तीन सय वटा जोक्स टिपेर राख्या’ छु डायरीमा । कतै जानुअघि ती जोक्स एकफेर सरर हेर्छु । माहोलअनुसार फ्याट्ट एउटा जोक भन्दिएपछि सबै जना हाँस्छन् । जोक्सले सम्बन्ध बलियो पनि बनाउँछ । मान्छेहरू मसँग बस्न रुचाउँछन् । यसले मेरो पीआर पनि बढाएको छ ।
हिरो बन्ने रहर के भयो ?
हिरो बन्नका लागि सुर्खेतबाट भागेर काठमाडौँ आएको थिएँ । हिरो बन्छु भनेरै नाच सिकेको थिएँ । तर, भइएन । दिलीप रायमाझी, सुशील क्षत्री मेरा सहयात्री हुन् । हामीले एउटै स्टुडियोमा डान्स सिकेका हौँ । पहिले–पहिले हामी फिल्मका गीतमा कोरस नाच्थ्यौँ । पछि, उनीहरू फिल्म खेलेर हिरो भए, म चाहिँ नाच्नमै व्यस्त भएँ ।
कोरस नाच्दाका कुनै क्षण सम्झनुहुन्छ ?
राजेश हमाल दाइको फिल्ममा नाच्नुप¥यो भने दिक्क लाग्थ्यो । उहाँ दिनमा तीनटा सुटिङ भ्याउनु हुँदो रैछ । दिउँसो १ नबजेसम्म मरिगए स्पटमा आइपुग्नु हुन्नथ्यो । हामी बिहानैदेखि ड्रेस लगाएर चउरमा सुत्थ्यौँ । पर्खिंदा–पर्खिंदा वाक्कै लाग्थ्यो । १ बजेपछि उहाँ टक्क आइपुग्नुहुन्थ्यो, हामी सबजना ज¥याक–जुरुक्क उठेर नाच्न ठिक्क पथ्र्यौं । उहाँ फटाफट आफ्नो सट दिएर हिँडिहाल्नुहुन्थ्यो । कहिलेकाहीँ त फोटो खिच्न पनि भ्याइन्नथ्यो ।
सँगैका साथी हिरो भए । तपाईंको पनि रहर त हिरो बन्ने नै थियो । तर, बन्नुभएन । किन होला ?
नारायण पुरीको फिल्ममा हिरो बन्ने पक्कापक्की भइसकेको थियो । तर, ठ्याक्कै त्यही बेलादेखि नेपाली फिल्म क्षेत्रमै संकटकाल आइलाग्यो । सबै फिल्म डुब्न थाले । त्यो प्रोजेक्ट त्यत्तिकै थन्कियो । म खाली भइरहेको बेला ‘ए शहरकी परी’ बोलको दोहोरी गीतमा नाच्ने अफर आयो । गरेँ । त्यो ठीकठीकै चल्यो । त्यसपछि फाटफुट्ट गीतमा नाचिरा’थेँ । ‘सुपारी चाम्रो’ मा नाच्ने मौका मिल्यो । त्यो भिडियो निस्किएपछि म व्यापक हिट भएँ । ‘लालुपाते नुग्यो भुइँतिर’ले झन् चर्चित बनाइदियो । अफरको ओइरो लागेपछि हिरोबारे सोच्ने फुर्सदै मिलेन ।
हिरोइनहरूको केसमा चाहिँ के हुन्छ ? तिनलाई पनि आउँदैन नाच्न ?
हिरोको तुलनामा हिरोइनहरू केही राम्रै नाच्छन् । रीमा विश्वकर्मा, रेखा थापाहरूले छिट्टै स्टेप टिप्छन् । कतिलाई चाहिँ उनीहरूले सक्ने–सक्ने स्टेप दिनुपर्छ । बिट राम्रो भएको गीतमा नाच्न सकेनन् भने चाहिँ स्टेप खेर गयो भनेर थकथकी लाग्छ मलाई ।
अरूलाई सिकाउन आफू पनि सिक्नुपर्छ होला । कति घण्टा प्य्राक्टिस गर्नुहुन्छ ?
नाच्यानाच्यै हो नि म त । अरूलाई सिकाउँदा सिकाउँदै पनि नयाँ स्टेप फुर्छन् । सेल्फ प्य्राक्टिस त त्यहीँ पनि हुन्छ । तर, त्यसबाहेक म इन्टरनेटमा विदेशीहरूको डान्स पनि हेर्छु । इन्डियन च्यानलमा आउने रियालिटी शोबाट पनि सिक्ने गर्छु । मैले सिकेका डान्स फर्महरू अहिले पुराना भइसके । हिपहप, लिरिकल हिपहप, कन्टेम्पररी के–के हो के–के डान्स फर्म छन् अहिले । झ्याउरेदेखि क्यारोलसम्म नाच्न जान्नुपर्छ ।
तपाईं जो–जोसँग नाच्नुहुन्छ उसैसँग नाम जोडिन्छ । कति वटीसँग लभ गरियो ?
केको लभ गर्नु ? सँगै नाच्ने, सँगै कार्यक्रममा हिँड्ने, जिस्किने, हाँस्ने ग¥या देखेपछि शंका गरेका हुन् मान्छेले । क्लोज–फ्रेन्डसँग लभै पर्दैन वास्तवमा । सम्झना (बुढाथोकी) देखि पार्वती (राई) सँगसमेत चक्कर छ भनेर हल्ला चलेछ । हाँसउठ्दो !
तपाईंसँग नजिकिन खोज्नेहरू पनि धेरै होलान् नि ?
छन् कोही–कोही । फोन गरेर सीधै पर्पोज गर्छन् । यसलाई पट्याउन पाए भिडियोमा नाच्न पाइन्थ्यो भन्ने आश हुन्छ कि ! म ‘मेहनत गर्नुस्, डान्स सिक्नोस्, अफर आफैँ आउँछन्’ भनेर सम्झाउँछु ।
कतिपय पुरुष सेलिब्रिटीले महिलाको शोषण गर्छन् रे ?
कतिपय महिलाले बरु हामीलाई नै युज गर्न खोज्छन् । नानाथरी अफर गर्छन् । भावनामा बगेर ‘हुन्छ’ भनौँला रे । उसले पुलिस लिएर आई भने सकिएन जिन्दगी ! नाम चलेको मान्छेले दायाँबायाँ गर्नै हुँदैन । पाइला–पाइलामा होस पु¥याउनुपर्छ ।