Thu. Apr 18th, 2024

सत्र वर्षवघि दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरीका कारण प्रवीण श्रेष्ठ ह्विलचियरको सहारामा पुगे । तर, उनले हिम्मत हारेनन् । निरन्तर संघर्षका कारण भिडियो एडिटर, निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेका छन् उनी । उनले ह्विलचियरमै बसेर निर्देशन गरेका म्युजिक भिडियोहरूले उत्कृष्ट म्युजिक भिडियोको अवार्ड पनि पाएका छन् । एकसय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनले निर्देशन गरेको फिल्म ‘मोक्ष’ यही महिना रिलिज हुँदै छ । प्रवीणसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः

तपाईंले निर्देशन गरेको फिल्म ‘मोक्ष’का ट्रेलर र गीत सार्वजनिक भएका छन् । प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

पहिले त आफन्त र साथीभाइले हौसला बढाउनका लागि राम्रो भनिरहेका छन् जस्तो लाग्थ्यो । अहिले कहिल्यै नचिनेकाहरूले पनि फिल्मलाई हेर्नैपर्ने लिस्टमा राखेको बताइरहेका छन् । गीत र यसको भिडियो मन प¥यो भन्ने धेरै प्रतिक्रिया आएका छन् । समग्रमा उत्साहित हुने प्रतिक्रिया पाइरहेको छु ।

फिल्म आफ्नै सत्य कथामा आधारित भनिरहनुभएको छ । नढाँटी भन्दा कति प्रतिशत सत्य हो ?
सत्य घटनामा आधारित फिल्म हो । पूरै सत्य होइन, किनभने फिल्मलाई रमाइलो बनाउनका लागि केही थपघट गर्नैपर्छ । मुख्य पात्र कोसिसले भोगेका घरेलु र मायाप्रेमका कुराहरू सबै यथार्थ हुन् । तर, फिल्मको पात्रको पारिवारिक पृष्ठभूमि मेरोसँग मिल्दैन । त्यसबाहेकका घटना कति सत्य नै हुन्, कति थपिएका वा घटाइएका छन् ।
यस्तो कथामा फिल्म बनाउँछु भनेर सोचेको कति समयपछि सफलता प्राप्त भयो ?
मैले छ वर्षअघि नै सोचेको थिएँ । ह्विलचियरमा बस्नु परेपछिका समस्या र मजस्तै धेरैका समस्याले मलाई यी कुरा बाहिरन ल्याउनुपर्छ जस्तो लागेको थियो । किनभने, अपांगता भएकाले र त्यसका परिवारले भोगिरहेको समस्या अरूलाई पनि ‘फिल’ हुन जरुरी छ । अर्काे कुरा अपांगता जहिले, जसलाई पनि हुन सक्छ । म पनि त पछि यो अवस्थामा पुगेको हुँ । मेरोजस्तो समस्या नेपालमा वर्षमा दुईदेखि तीन सय जनालाई हुँदो रहेछ । म जबसम्म घरमा हुन्छु, तबसम्म आफूलाई अरूभन्दा केही कुरामा कम भएको महसुस हुँदैन । बाहिर निस्किनेबित्तिकै वातावरणले नै मलाई त्यस्तो ‘फिल’ गर्न बाध्य बनाइदिन्छ ।
हाम्रो समाज अपांगमैत्री नभएको गुनासो हो यो ?
मलाई लाग्छ, कोही हिँड्न नसक्दैमा अपांग हुँदैन । यहाँको बाटो राम्रो भएको भए ह्विलचियरमा म जहाँ पनि पुग्न सक्थेँ । अपांगमैत्री सार्वजनिकस्थल (शौचालयदेखि रेस्टुरेन्टसम्म) भएको भए मलाई अरूको सहारा चाहिँदैनथ्यो । सामाजिक सोच उन्नत भएको भए अपांगलाई हेयभावले हेरिँदैनथ्यो । यिनै कारणले आफूसँग धेरै कुरा हुँदाहुँदै पनि केही नभएको महसुस गर्न बाध्य भइन्छ । मैले आफ्ना लागि मात्रै गरेको छैन, अरूलाई पनि काम दिएको छु । तैपनि, मलाई यो समाजले ‘अपांग’का रूपमा हेर्छ । जसका हातखुट्टा चल्छन्, तर उसले दुई छाक खान अरूको भर पर्नुपर्छ भने ऊ कसरी ‘सबलांग’ भयो ? यसकारण हिँड्न सक्दैमा कोही सबलांग हुँदैन ।
दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरी हुनुअघि के बन्ने सपना थियो ?
मेरो एक्सिडेन्ट भएको १६ वर्ष भयो । त्यति बेला म विद्यार्थी थिएँ, प्लस टूको परीक्षा दिएको थिएँ । आमाबुवाको सपना राम्रो जागिर खाओस् भन्ने थियो । म म्युजिकमा बढी ‘इन्ट्रेस्टेड’ थिएँ । हामी साथीभाइ मिलेर ‘आयोनिका’ नामक ब्यान्ड बनाएका थियौँ । चार वर्ष भइसकेको थियो । म ब्याक भोकलिस्ट र बेस गिटारिस्ट थिएँ । कन्सर्ट गरिरहेका थियौँ र गीत रेकर्ड गराउने प्रक्रिया अन्तिरम चरणमा पुग्दै थियो । संगीतमा केही गर्ने सपना थियो ।
अनेक सपनाका पछि कुद्दाकुद्दै तपाईं दुर्घटनामा पर्नुभयो । होशमा आएपछि खुट्टा चल्दैन भन्ने थाहा पाउँदाको क्षण कम पीडादायी थिएन होला । त्यो पीडालाई जितेर सामान्य अवस्थामा आइपुग्न कति समय लाग्यो ?
दुई वर्ष असाध्यै ‘डिप्रेसन’मा गएँ । आत्महत्या गर्न मन लाग्ने, घरपरिवारदेखि असाध्यै रिस उठ्ने भयो । आफूलाई केही कुरा चाहिने, ‘डिमान्ड’ गर्ने तर परिवारका सदस्य अरू काममा व्यस्त भएपछि समय लाग्ने नै भयो । यस्तो अवस्थामा पनि असाध्यै रिस उठ्थ्यो ।
आत्महत्याको प्रयास पनि गर्नुभयो रे ?
एक÷दुई चोटि ब्लेडले हात काटेँ । तर, त्यति गर्दा मर्ने होइन, पीडा मात्रै भयो । पछि त डर लाग्यो, म नमरेर हात पनि नचल्ने भयो भने ! त्यसपछि भनेर यथार्थ स्विकारेर अघि बढ्ने निर्णय गरेँ । हिम्मत नहार्नेले संसार जित्न सक्छ र जित्छ भन्ने ज्ञान हासिल गरेँ मैले ।
सुरुमा के गर्नुभयो ?
संगीतमा रुचि भएकाले ‘एरेन्ज’को काम थालेँ । घरमै सामग्री मगाएँ । केही गीत एरेन्ज गरेँ । तर, गीत ‘कम्पोज’ गरेपछि स्टुडियो पुगेर रेकर्ड गराउन गाह्रो भयो । ‘सर्भाइभ’ गरिएला जस्तो पनि लागेन । इमेज च्यानलका दाइ सुरज श्रेष्ठ घरमा आउनुभएका बेला भन्नुभयो, ‘घरमै गर्ने काम किन गर्दैनौ ?’ त्यसपछि भिडियो ‘एडिटिङ’तिर लागेँ ।
एडिटिङ सिक्नका लागि इन्स्टिच्युट धाउन गाह्रो प¥यो होला नि ?
मैले घरमै पुगेर सिकाउने टिचर खोजेको थिएँ । त्यो सम्भव भएन । पछि एउटा इन्स्टिच्युटले पढिरहेका मध्ये राम्रो विद्यार्थी मलाई सिकाइदिन पठाइदियो । निराजन पन्त हुनुहुन्थ्यो । पहिले इन्स्टिच्युटमा सिकेर त्यसपछि मलाई सिकाउनुभएको थियो । मलाई प्रोफेसनल एडिटर हुन पाँच वर्ष लाग्यो ।
सुरुमा काम कसरी जुटाउनुभयो ?
केही गायक साथीहरूले हौसला बढाइरहनुभएको थियो । त्यसैले सुरुमा उहाँहरूकै काम लिइयो । नेपाल टेलिभिजनमा एक जना चिनेको दाइ कार्यक्रम चलाउनुुहुन्थ्यो । उहाँले काम मिलाइदिनुहोला भन्ने आशा थियो । एक दिन काम माग्न गएको थिएँ, तर उहाँले उल्टै ‘काट्न र जोड्न जान्दैमा एडिटर भइन्नँ’ भन्ने बचन लगाएर फर्काउनुभयो । त्यसपछि इख लिएँ, ‘एक दिन मेरोमा एडिटिङ गराउन लाइन लाग्नुपर्ने बनाउँछु’ भन्ने । त्यसपछि सुरुमा गायक साथीहरूकै भिडियो न्यूनतम शुल्कमा प्य्राक्टिस गर्नकै लागि एडिटिङ गरेँ । त्यसपछि रियाज म्युजिकले आफ्ना सबै भिडियो दिएर गुन लगाएको थियो ।
बेस्ट एडिटरको अवार्ड पाएपछि ती दाइसँग भेट्नुभयो त ?
पछि भेट भएको थियो । डकुमेन्ट्री एडिटिङका लागि आउनुभएको थियो । म असाध्यै व्यस्त थिएँ, एक महिनासम्मका लागि काम लिइसकेको थिएँ । त्यसैले बाध्यता बताएँ । उहाँले ‘आफ्नो मान्छेको चाँडै गरिदिए हुन्थ्यो’ भन्ने आशय व्यक्त गर्नुभयो । मैले उहाँको बचन सम्झाएँ । ‘त्यति नभन्या भए यो ठाउँमा हुन्नथिस्’ भन्नुभयो । जुन नियतले भनेको भए पनि ‘हो त’ भन्ने लाग्यो मलाई ।
निर्देशन पनि गर्न सक्छु भन्ने साहस कसरी जुट्यो ?
अरूको भिडियो एडिट गर्ने क्रममा यहाँनेर यस्तो सट लिएको भए, क्यामेरा यता राखेको भए, लाइटिङ यस्तो भएको भए भन्ने लागिरहन्थ्यो । त्यसैले अरूले गरेको निकै भिडियो एडिट गरेपछि आफैँ निर्देशनमा लागेँ ।
पहिलो भिडियो कसको गीतको थियो, याद छ ?
सञ्जीव सिंहको म्युजिक र योगेश्वर अमात्यको स्वर रहेको ‘छैन तिम्रो भर’ भन्ने थियो । समयले धोका दियो । सुटिङमा पानी परेको प¥यै भएपछि त्यो बिग्रियो । यही कारण राम्रो बनाउने विश्वास दिलाउन चारपाँच महिना फ्रीमा भिडियो बनाएँ ।
अघिल्लो वर्ष उत्कृष्ट भिडियो निर्देशकको अवार्ड पनि पाउनुभयो । त्यसले त्यो क्षण फेरि सम्झायो होला !
म राम्रो विद्यार्थी, छोरा, श्रीमान् वा बाबु केही पनि बन्न सकिनँ । त्यसकारण पुरस्कारको नाममा चकलेटसम्म पाएको थिइनँ । भिडियो निर्देशक र एडिटरको अवार्ड पाउँदा धेरै सुखदुःखका पल स्मृतिमा आएका थिए ।
फिल्म निर्माणका लागि निर्मातालाई कसरी राजी गराउनुभयो ?
स्क्रिप्ट फाइनल भएपछि फिल्म निर्माता÷वितरक सुनील मानन्धरलाई फोन गरेँ । निकै पटक गरेँ, उठाउनुभएन । पछि मैले म्यासेज गरेँ, उहाँले अफिसमा आएर भेट्न भन्नुभयो । अफिस भुइँतलामा भएमात्रै आउन सक्ने बताएँ । म ह्विलचियरमा रहेको पछि थाहा पाउनुभयो । मैले स्क्रिप्ट देखाएपछि फिल्म बनाउन राजी हुनुभयो ।
फिल्मको नाम पनि ‘मोक्ष’ राख्नुको कारण ?
‘मोक्ष’को अर्थ हो मुक्ति । यो शब्दप्रति पहिलेदेखि नै विशेष आकर्षण थियो । त्यसैले प्रोडक्सन कम्पनीको नाम यही शब्दबाट राखेँ, फिल्मको पनि ।
एक्सिडेन्टपछि पुरानो प्रेम र अरू सम्बन्धका तार पनि टुटे होलान् !
धेरै साथीहरूले थप सहयोग गरे । पहिलेको प्रेमिकाले छाड्न मानेकी थिइनन् । म आफैँ पन्छिएँ । मलाई अहिलेको अवस्थामा आइपुग्छु जस्तो लागेको थिएन । एक त आफैँ परिवारको सहायतामा बाँचिरहेको छु, त्यसमाथि उनलाई किन बोझ हुनु भनेर बलजफती टाढिएँ ।
शुक्रवारबाट

%d bloggers like this: