Fri. Mar 29th, 2024

केन्याको एउटा जिल्ला अस्पतालमा गत साता भागाभाग मच्चियो । अस्पतालको शवकक्षमा राखिएको एक ‘शव’ले उठेर होहल्ला गर्न थालेपछि कर्मचारीहरूको भागाभाग मच्चिएको थियो ।
२४ वर्षीय केन्याली नागरिक पाउल मुटोराको शव यसरी बिउँझिएको थियो । आत्महत्या गर्ने प्रयास गरेका उनको मृत्यु भएको निष्कर्ष डाक्टरहरूले निकालेका थिए । त्यसपछि उनलाई शवगृहमा राखिएको थियो ।
मृत घोषित उनी १५ घण्टापछि यसरी बौरिएका हुन् । बौरिँदा आफूलाई शवगृहमा पाएपछि उनी ‘बचाऊ बचाऊ’ भन्दै चिच्याउन थाले । ‘शव’ यसरी चिच्याउन थालेपछि त्यहाँका कर्मचारी भागाभाग गर्न थाले ।
बाबुसँग झगडा भएपछि ती युवकले कीटनाशक औषधि सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । परीक्षणपछि उनलाई डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

‘अस्पतालमा उनलाई ल्याउनसाथ हामीले विषनिरोधी औषधि दिएका थियौँ,’ अस्पतालका निरिक्षक डा. जोसेफ एमबुरुले भने, ‘सायद यसैले उनको मृत्यु भएको भ्रम सिर्जना गरेको थियो । यस्ता औषधिले मुटुको धड्कन धिमा र आँखाको नानीको रङ फिका गराउने काम गर्छ ।’ अहिले पाउलको उपचार भइरहेको छ । नयाँ जीवन पाएकोमा उनी खुशी छन् र आत्महत्याको प्रयास गरेकोमा पछुतो मानिरहेका छन् । ‘यस्तो नाकाम गरेकोमा म बुवासँग माफी माग्न चाहन्छु । निको भएपछि घर फर्किएर श्रीमती र छोराछोरीको राम्रोसँग हेरविचार गर्नेछु,’ उनले भने

%d bloggers like this: