Thu. Mar 28th, 2024

किराती नयाँ वर्षमा किरात राई मौलिक कला संस्कृति केन्द्रले राजधानीको जमलमा आयोजना गरेको यलेदोङ ५०७४ को अवसरमा आयोजीत मिस राई ५०७४ मा मोरङ उर्लाबारी २ की सोनी कुलुङ राई(२१) विजेता बनिन् । हाल काठमाडौँको बसुन्धरामा बस्दै आएकी सोनी एटलान्टीक इन्टरनेशनल कलेजमा विविए अध्ययरत छिन् । उनीसँग भीषण राईले गरेको कुराकानीः 

मिस राईको उपाधि जित्दा कस्तो अनुभूति भइरहेको छ ?
खुशी लागेको छ । सवै किराती राईमा चिनिने मौका पाएँ । विशेष गरी आफ्नो समुदायको प्रतिनिधित्व गर्न पाउँदा हर्षित छु ।
यो खुशी कोसँग बाँड्न चाहनुहुन्छ ?
मेरो परिवार, आफन्त, साथीभाई र सम्पूर्ण किरातीहरुसँग बाँड्न चाहन्छु ।
तपाईँले जित्नुका मुख्य आधार के हुन् ?
मिस राई बन्नको लागि धेरै मिहिनेत गरेकी छु । आफ्नो कमजोरीलाई सच्याएँ । यससंगै आयोजक, प्रशिक्षण कक्षा, अध्ययनलाई महत्वपूर्ण रुपमा लिएँ । यीनै कारणले मलाई मिस राईको उपाधि दिलायो ।
फाइनलमा ‘थाक्ने छैनौ कहिले नेपाली हौ वीर, सधैँ उच्च राख्नेछु किरातीको शीर’ भन्नुभएको थियो । किन ?
हामी किरात राई पहिले पनि र अहिले पनि वीर हौं । त्यही विरासतलाई वर्तमान अवस्थामा पनि थाम्नका लागि त्यो मेरो सन्देश थियो । त्यसैले उक्त एक लाइन भन्न उपयुक्त लाग्यो ।
यो प्रतियोगिताबाट उपाधिबाहेक के के प्राप्त गर्नुभयो ?
यसअघि अन्य प्रतियोगीतामा पनि सहभागी भएकी थिएँ । त्यहाँ सहभागीता मात्रै भयो । मिस राईमा सहभागी भएपछि आफ्नो जाति, भाषा, धर्म र संस्कृतिको ज्ञान पाएँ । साथै अहिलेको वर्तमान राज्य र हामी किरातीको विभेद पनि नजिकबाट बुझ्ने मौका पाएँ । आफ्नो समुदायलाई बुझ्ने मौका पाएँ ।
अबको उद्देश्य के हो ?
सामाजिक कर्ममा लाग्ने सोच छ । मिस राईले दिलाएको उपाधि र पहिचान त्यो कार्यका लागि महत्वपूर्ण कुरा हो । त्यो सामाजिक कार्य किरातीहरुको लागि नै होस् भन्ने हो । यस बाहेक एउटा सफल ब्यवसायी बन्ने लक्ष्य छ ।

%d bloggers like this: