Thu. Apr 25th, 2024

आज उनी कराडौँ रुपैयाँमा खेल्छिन् । तर, बाल्यकालमा उनीसँग गुच्चा किन्ने पैसा पनि हुँदैनथ्यो ।
कट्रिना कैफ अहिले बलिउडकी सबैभन्दा चर्चित अभिनेत्री हुन् । पछिल्लो पटक ‘धुम–३’मा झुल्किएकी यही फिल्मका कारण उनी तारिफ कमाइरहेकी छिन् । उनको यस्तो सफलता देखेर अन्य समकालीन बलिउड अभिनेत्रीले आह्रिस गर्दैै कुरो काट्ने गरेका छन् । उनीहरू भन्छन्– ‘कट्रिनासँग अभिनेत्रीमा हुनुपर्ने गुण केही थिएन । बलिउड स्टार सलमान खानको ‘निगाह’का कारण उनी चम्किएकी हुन् ।’
सलमानको आँैला समातेर बलिउडमा ‘ताते’ गर्न सिकेको भन्ने भनाइलाई कट्रिना पूर्णतः नकार्दिनन् । भन्छिन्, ‘यो सत्य हो, सलमानले मलाई ठूलो मद्दत गर्नुभएको थियो । तर, ममा प्रतिभा थिएन भने उहाँले मात्रै मलाई के नै गर्न सक्नुहन्थ्यो र ? अभिनय गर्न नसकेको भए कुन चाहिँ राम्रो निर्देशकले मलाई आफ्नो फिल्ममा काम गर्ने अवसर दिन्थे होलान् र ?’
सलमानसँगको सम्बन्ध र त्यसपछिको सफलताले उनलाई उत्साहित गर्छ । त्यसअघिका संघर्षका दिन सम्झिँदा उनी भावुक हुन्छिन् ।
आफ्नो बाल्यकाल सम्झिँदै कट्रिना भन्छिन्, ‘छ जना छोरी र एक जना छोरासहित नौ जनाको ठूलो परिवार थियो हाम्रो ।’ घर भनेको स्थिरप्रायः हुन्छ, जहाँ दुईतीन पुस्ताले जिन्दगी बाँचेका हुन्छन् । ‘तर, हाम्रो घर अलिक भिन्न खालको थियो,’ कट्रिना सम्झिन्छिन्, ‘एउटा घरमा हामीले तीनचार वर्षभन्दा बढी बस्न पाएनौँ । घर सरिरहनुपथ्र्यो । किनकि, मेरी आमाको जागिरमा सरुवा भइरहन्थ्यो । उहाँ अधिवक्ता र समाजसेवी हुनुभएकाले कहिले कहाँ कहिले कहाँ पुग्नुपथ्र्यो । उहाँ जता जानुभयो, परिवार पनि त्यतै जान्थ्यो ।’
सानो छँदा कट्रिना कुनै दिन ‘फायर फाइटर’ अथवा ‘स्टन्ट वुमन’ बन्ने सपना देख्थिन् । हक्की, साहसी खालको व्यक्तित्व निर्माण गर्ने रहर थियो, उनमा । ‘अमेरिकाको अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नासा एकेडेमीमा पढ्न जाने सपना पनि देख्ने गर्थें । तर, यी सपना केवल मनका लड्डु थिए, ’ कट्रिना बाल्यकालका क्षणमा डुब्दै गइन् ।
ठूलठूला सपना देखे पनि सानो सपना पूरा गर्ने हैसियत उनको उमेरका बालबालिकामाझैँ कट्रिनामा थिएन । ‘गुच्चा संकलन गर्नु मेरो सोख थियो । तर, किन्नका लागि मसँग पैसा हुँदैन थियो । अरूले मलाई गुच्चा दिने लोभ देखाएर काम लगाउने गर्थे,’ उनले अतीत सम्झिइन्, ‘दिदीले मेरो गुच्चामोह बुझ्नुभएको थियो । त्यसैले, गुच्चा दिने लोभ देखाएर मलाई काम अह्राउनुहुन्थ्यो । गुच्चा पाउने लोभमा म घरका सारा काम गर्थें । कहिले त घरमा धेरै भाँडा हुन्थेँ । माझ्दामाझ्दै हात गल्थे । यसरी काम गरेबापत दिदीले तीनचार वटा गुच्चा दिनुहुन्थ्यो ।’
कट्रिना भनेपछि मरिमेट्नेहरूको अहिले कुनै कमी छैन । तर, किशोरी अवस्थामा उनलाई कसैले वास्ता गर्दैनथ्यो ।
कश्मिरी बाबु र बेलायती आमाकी सन्तान कट्रिनाले किशोरावस्थामा मुम्बई बसाइँ सरिन् । ‘मुम्बईमा बस्दा एउटा केटो मसँग ज्यादै नजिक थियो । उसँग मेरो ‘लभ’जस्तै केही परेको रै’छ,’ उनले सुनाइन्, ‘एक दिन पार्टीमा त्यो केटालाई अर्कैै केटीसँग देखेँ । मलाई सहिनसक्नु भयो । रातभरि रोएँ । निन्द्रै लागेन ।’
बेलायतमा रहँदा काम नपाएको पीडा उनी अझै सम्झिन्छिन् । चौधपन्ध्र वर्षको उमेरमा ‘ज्वेलरी क्याम्पेन’मा मोडलिङ गर्ने अवसर मिल्यो । त्यसपछि बिस्तारै उनले ¥याम्पमा ‘क्याटवाक’ गर्ने अवसर पाउन थालिन् । उनको आत्मविश्वास बढ्न थाल्यो ।
सिकाइको पनि प्रक्रिया हुँदो रै’छ भन्नेमा कट्रिना विश्वस्त छिन् । ‘आज अक्षय कुमार र मेरो ‘केमेस्ट्री’ एकदम मिल्छ भन्ने विश्लेषण गरिन्छ । अक्षयसँग पहिलो पटक काम गर्दाको क्षणलाई कट्रिनाले भुल्न सकेकी छैनन् । ‘हामी ‘हमको दीवाना कर गए’ फिल्मको छायांकनमा व्यस्त थियौँ,’ उनले भनिन्, ‘तर, दिनभरि अक्षयले मसँग दोहोरो कुरा गर्नुभएन । यस्तो उपेक्षाका कारण एकदम नरमाइलो लाग्यो । घर गएर खुब रोएँ । राति फोन गरेर एक जना कस्ट्युम डिजाइनर साथीलाई फोन गरेर ‘फिल्म इन्डस्ट्रीमा यस्तै व्यवहार हुने गर्छ ?’ भनी सोधेँ । उसले फिल्म क्षेत्रमा यस्तै हुन्छ भन्दा झन् नमज्जा लाग्यो ।’
सुरुसुरुमा ठूलठूला निर्देशकले कट्रिनालाई आफ्नो फिल्ममा लिन ठाडै अस्वीकार गरेका थिए । ‘मैले बलिउडका धेरै नामी निर्देशकसँग काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यशराज चोपडा, सुभाष घई, राजकुमार सन्तोषी, कबीर खान, विपुल शाहजस्ता उम्दा निर्देशकसँग काम गरेकी छु । यी सबै निर्देशकले कुनै बेला मलाई आफ्नो फिल्ममा लिन मानेका थिएनन् ।’
‘धुम–३’मा कट्रिनाको नृत्य र ‘स्टन्ट्स’को आज खुब तारिफ गरिँदै छ । तर, संघर्षका दिनमा उनको क्षमतालाई धेरैले पत्याउन सकेका थिएनन् । ‘ कोरियोग्राफर फराह खानसँग ‘जस्ट चिल चिल’ गीतमा पहिलो पटक काम गरिरहेकी थिएँ,’ उनले सम्झिइन्, ‘उहाँ मेरो नृत्यबाट सन्तुष्ट हुनुभएन । नाच्दै गर्दा उहाँले ‘तिम्रो हात कुखुराको पखेँटाजस्तै फडफडाउँदो रै’छ’ भन्नुभयो ।’ फराह खानको असिस्टेन्ट र अन्य डान्सरसँग हँसीमजाक गरिरहेका बेला फराहले आफ्नो सातो खाएको सम्झिँदा कट्रिनालाई अहिले पनि डर लाग्छ । ‘रमाइलो गरिरहेका थियौँ,’ उनले सम्झिइन्, ‘फराह ‘ओई कुखुराप्वाखेँ कट्रिना’ भन्दै चिच्याउनुभयो । मेरो हंसले झन्डै ठाउँ छोडेको थियो ।’
कट्रिनाले बलिउड प्रवेश गरेको नौ वर्ष बितिसकेको छ । ‘यस अवधिमा कैयौँले मेरो साथ दिनुभयो, तर सलमान र अक्षयले गर्नुभएको सहयोगलाई म कहिल्यै भुल्न सक्दिनँ । उहाँहरू दुवै जना मेरो परिवारका सदस्यजस्तो लाग्छ,’ भावुक हुँदै कट्रिनाले सुनाइन् । अक्षयले आफूलाई ‘प्रोफेसनल्ली’ ठूलो सहयोग गरेको कट्रिना बताउँछिन् । ‘सलमानले वर्षौंअघि मलाई ‘एक दिन तिमी निकै माथि पुग्छौ’ भन्नुभएको थियो,’ उनले सम्झिइन्, ‘म यहाँसम्म आइपुग्नुमा उहाँहरू दुवैको ठूलो हात छ ।’
(एजेन्सीको सहयोगमा)

%d bloggers like this: