Tue. Apr 23rd, 2024

यस वर्षकी नेवाः सुन्दरी अलिशा बज्राचार्यको ‘मिडिया पर्सन’ बनेर चिनिने इच्छा छ । काठमाडौं, माइतीदेवीकी २१ वर्षीया अलिशा मिडिया टेक्नोलोजीकी विद्यार्थी पनि हुन् । सानैदेखि क्राउन जित्ने अभिलाषा बोकेकी अलिशाले केहीअघि नेप्लिज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः ११४३’ मा आफ्ना २१ प्रतिस्पर्धीलाई उछिन्दै ताज आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । एयर होस्टेजको जागिरसमेत हापेर अध्ययनलाई अगाडि बढाएकी अलिशा अब एक वर्ष विभिन्न सामाजिकमा कार्यमा व्यस्त हुनेछिन् । अलिशासँग एमपी सुब्बाले गरेको कुराकानी :

मिस नेवाः बनेपछि कस्तो अनुभूति भइरहेको छ ?
खुसी नहुने त कुरै भएन । मेरो एउटा इच्छा पूरा भएको अनुभूति भएको छ । सानैदेखि क्राउन जित्ने मेरो रुचि थियो, त्यो अहिले पूरा भएको छ । मिस नेवाः महत्वपूर्ण इभेन्ट पनि हो ।
तपाईंलाई किन मलाई नै मिस नेवाः छानियोजस्तो लाग्छ ?
हो, सबै प्रतियोगी आ–आफ्नो तवरमा अब्बल थिए । हेमा म्याम (हेमा मानन्धर) ले पनि भन्नुहन्थ्यो, सबै ट्यालेन्ट छौ तर ममा ट्यालेन्टसँगै सकारात्मक सोच र आत्मविश्वास थियो । मलाई हेमा म्यामले भन्नुभएको हरेक कुराले छोयो । अहिले लाग्छ, सकारात्मक सोच र आत्मविश्वासले गर्दा मिस नेवाःको ताज जित्न सफल भएँ ।
सानैदेखि क्राउन पहिरिने सपना भएर पनि किन यसअघिका प्रतियोगितामा भाग लिनुभएन ?
यस प्रतियोगितामा सहभागी हुन नसक्नुमा म १९ वर्षमै यती एयर लायन्सको क्याबिन टुर ‘एयर होस्टेज’ बनँे । तर, अध्ययनले गर्दा समय दिन नसकेर एयर होस्टेजको जागिर पनि छाडेँ । अहिले दिउँसो फर्सद हुन थालेका कारण प्रतियोगितामा भाग लिएकी हुँ ।
कति वर्ष एयर होस्टेज भएर काम गर्नुभयो ?
मैले २ वर्ष मात्र गरेँ । अध्ययनलाई अगाडि बढाउनुपर्ने भएकाले छाडेकी हुँ ।
मिस नेवाः बनेपछि आफूमा जिम्मेवारी थपिएजस्तो लाग्दैन ?
अवश्य पनि । म सानैदेखि समाजसेवाप्रति रुचि राख्थेँ । मेरो ममी पनि समाजसेवी भएकाले समाजसेवाप्रति मेरो रुचि बढेको हो । अहिले मिस नेवाः भएपछि मलाई नेपाल रिलिफ क्यान्सर सोसाइटीले गुडविल एम्बेसडर बनाएको छ भने कामनपाले वातावरणीय एम्बेसडर । त्यस्तै, एनएफएचले सोसलिस्ट एम्बेसडर बनाएको छ । मैले तीनै संस्थाले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ । परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मेरो मान्यता पनि हो । त्यसैले मेरा प्रत्येक जिम्मेवारी पूरा गर्दै जानेछु ।
जिम्मेवारी बहन गर्ने क्रमको सुरूआत कहाँबाट गर्दै हुनुहन्छ ?
सबै जिम्मेवारीलाई उत्तिकै प्राथमिकता दिएकी छु । म आफ्नो जिम्मेवारीबाट भाग्ने छैन । तर, पहिलो कदमअनुरूप आगामी आइतबार एनएफएचको संयोजत्वमा पनौतीमा असहायका लागि तातो कपडा बाँड्ने कार्यक्रम हुँदै छ । सायद यो नै मेरा लागि मिस नेवाः भएको पहिलो सार्वजनिक कार्यक्रम हुनेछ ।
नेवाः सुन्दरी भएकाले आफ्नो समुदायभित्र पनि केही गरेर देखाउने अठोट होला नि ?
पक्कै पनि । नेवार समुदायमा छोरी भएर जन्मन पाएकोमा म गर्व गर्छु । नेवार समुदाय भनेको संस्कृति, संस्कार, कला र भाषामा एउटा धनी समुदाय हो । लायन्स क्लबमा पनि आबद्ध भएको नाताले अब एक वर्ष क्लबको सहकार्यमा नेवार समुदायको कला, संस्कृति र भेषभूषाको प्रवद्र्धनका लागि कार्य गर्नेछु ।
मोडलिङ र अभिनयमा आउने रुचि छ कि छैन ?
मेरो रुचि भनेकै मिडिया पर्सन बनेर चिनिनु हो । तर, मैले यो एक वर्षमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले मोडलिङ र अभिनयमा समय दिन सक्दिनँ होला । अहिलेदेखि नै मलाई म्युजिक भिडियो मोडलिङमा अफर आउन थालेको छ । तर, ती अफरलाई थाती राखेर मिस नेवाः हुनुको जिम्मेवारी पूरा गर्नतिर ध्यान दिएकी छु । फिल्ममा अभिनय भनेको एक वर्षपछिको कुरा हो । त्यो त्यतिखेरै सोच्नुपर्ने हुन्छ ।

alisha

%d bloggers like this: