सुवास गिरीले म्यानपावर व्यवसायलाई मुख्य व्यवसाय बनाएका छन् । तर, उनको फिल्म क्षेत्रप्रतिको मोह पनि उत्तिकै छ । उनले ‘हो यही माया हो’ भन्ने फिल्म निर्माण गरेर पहिलोपल्ट फिल्म क्षेत्रप्रति आत्मीयता दर्शाएका थिए । त्यसपछि नेपाली फिल्मको अवार्ड मलेसियामा आयोजना गरेर झन् नजिक रहेको प्रमाणित गरे । यतिबेला उनले अभिनेता आर्यन सिग्देलसँग मिलेर बनाएको फिल्म ‘नोभेम्बर रेन’लाई दर्शकले आत्मीयता प्रस्तुत गरिरहेका छन् । यही सन्दर्भमा सुवाससँग गरिएको कुराकानीः
फिल्म ब्लकबस्टर भयो त । अपेक्षा थियो ?
फिल्म राम्रो बनेको छ भन्नेमा विश्वस्त थिएँ । तर, ‘अगुल्टाले हानेको कुकुर विजुली चम्किदा तर्सिन्छ भनिन्छ’ नि त्यस्तै, अघिल्लो फिल्म चल्दा हल सुनसान भएको सम्झेर डर लाग्थ्यो । तरपनि माउथ पब्लिसिटीको आशा गरेको थियो । इनिसियल नै राम्रो ग¥यो, जे भइरहेको छ, मेरो अपेक्षा भन्दा परको कुरा भइरहेको छ ।
अघिल्लो फिल्म पूरै घाटामा गयो । तरपनि फिल्ममा लगानी गर्ने हिम्मत जुटाउनुभयो है !
अघिल्लोपल्ट फिल्म नै राम्रो बनेन भन्ने मलाई थाहा भयो । म नयाँ थिएँ, अरुले भनेअनुसार चलेँ । फिल्म सोचेजस्तो भएन । त्यो फिल्मले सिकाएको थियो । अब राम्रो गर्नुपर्छ फिल्म चल्छ भन्ने हिम्मतले यो फिल्ममा लगानी गरेको हुँ ।
फिल्म चल्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा के रहेछ ?
राम्रो फिल्मका लागि राम्रो पब्लिसिटी जरुरी रहेछ । हामी फिल्ममा ५० लाख रुपैयाँ खर्च गर्छाैं तर प्रचारका लागि ५ लाख खर्च गर्न डराउँछौं । त्यसैले राम्रो कुरालाई राम्रो छ भन्नका लागि पनि खर्च गर्न जरुरी छ अहिलेको समयमा । प्रचार कम भएकै कारण हामीले रिलिज समय सारेका थियौँ । त्यसपछि राम्ररी प्रचार ग¥यौं फिल्म हिट भयो ।
अब त फेरि पनि फिल्म बनाइराख्ने रहर जागेको होला !
वर्षमा एउटा त अनिवार्य बनाउँछु । मलाई फिल्मप्रति सानैदेखिको आकर्षण छ, त्यही आकर्षणले निर्माता बनाएको हो । त्यसैले मुख्य पेशा अर्काे भएपनि फिल्म निर्माणलाई निरन्तरता दिइरहन्छु ।
फिल्मतिर आकर्षित हुनेहरु त निर्देशक वा हिरो यस्तै केही बन्न खोज्छन् । तपाईँचाहिँ निर्माता ?
मलाई कलाकार बन्न कहिल्यै रहर जागेन । तर, फिल्म भने निकै हेरेंँ । राम्रो फिल्म बनाउन पाए भन्ने लोभ पनि भइरह्यो । त्यसैले निर्माता भएँ ।
कत्तिको फिल्म हेर्नुहुन्थ्यो र हेर्नुहुन्छ ?
पहिले असाध्यै हेरिन्थ्यो । अहिले पनि सबैभन्दा धेरै नेपाली फिल्म हेर्ने निर्माता म नै होला सायद ।
सबैभन्दा धेरैपल्ट कुन नेपाली फिल्म हेर्नुभयो ?
‘कुसुमे रुमाल’ । सिन्धुलीमा १५ दिन चलेको थियो, मैलै १५ दिन नै १५ वटा सो हेरेको थिएँ ।
तपाईँ त म्यानपावर व्यवसायी हो । फिल्म निर्माणको चक्करमा लाग्दा त्यता गाह्रो परेन ?
प¥यो नि । एक हप्ता अफिसको कामले मलेसिया, अर्काे हप्ता फिल्मको कामले नेपाल भएको थिएँ । फिल्म दर्शकले रुचाए, मैले ती अप्ठ्यारा बिर्सिएँ ।
तपाईँले त नेपाली फिल्म अवार्ड (नेफ्टा अवार्ड)लाई पहिलोपल्ट विदेशी भूमिमा गर्नुभयो । यो फिल्म क्षेत्रसँगको आत्मीयताका कारण हो कि अरु पनि केही फाइदा देख्नुभएको थियो ?
मलाई नेपाली फिल्म क्षेत्रप्रति छुट्टै आकर्षण छ । व्यवसायको सिलसिलामा मलेसिया हुँदा पनि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फिल्मलाई प्रमोट गरिरहेको हुन्थेँ । अन्य देशका अवार्ड हेर्दा मलाई नेपाली फिल्म अवार्ड पनि विदेशमा गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसैले मलेसियामा अवार्ड गर्ने आँट गरेको हुँ ।
अघिल्लो फिल्म पनि लभस्टोरी र यो पनि । तपाईँलाई लभस्टोरी फिल्ममा रुची छ, हो ?
मलाई सबै खालका फिल्म मन पर्छन् । तर, लभ स्टोरी फिल्ममा मानवीय संवेदना निकै गाढा हुन्छ जस्तो लाग्छ । त्यसैले लभस्टोरी मलाई बढी मन पर्छ ।
कलाकारहरु आर्यन र नम्रता नै किन छान्नुभयो ?
लभस्टोरी फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई जोडीका रुपमा निकै सुहाउँछ । मैले ‘मेरो एउटा साथी छ’ हेरेपछि ठम्याएको थिएँ । त्यसपछि यो जोडीलाई पुन पर्दामा सँगै हेर्न पाए भन्ने लागेको थियो । आफ्नै फिल्मबाट त्यो अवसर जु¥यो ।