Fri. Mar 29th, 2024

काठमाडाैँ। धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित छन् । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गरेका थिए । कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उनले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भएता पनि प्रदर्शनको टुङ्गो लागेको छैन । यद्यपि उनले अभिनय गरेको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदैछ । यसैकारण अहिले उनको दिनचर्या फेरिएको छ ।

पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उनि सर्वाधिक खोजिने अभिनेतामा परे । उनको उपस्थितिले दर्शक हलसम्म आउँछन् भन्ने विश्वास छ । तर उनि आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा छन् । “स्टारडम त केही समयको हुन्छ । म अभिनेता बन्न चाहन्छु । मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु”, उनले भने । उनि सुन्दरता आवरण भन्दा पनि अभिनयमा देखाउने तयारीमा छन् । तेस्रो चलचित्रमा काम गरिसकेपछि उनिमा देखिएको परिवर्तन हो यो ।

बेलायतबाट नेपाल आउँदा देखेको सपना विस्तारै साकार हुँदै गर्दा उनलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ । “मैले पाएको मायाले दायित्वबोध गराएको छ । किनकी म यहाँ कलाकार बन्न आएको थिएँ । मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेता मगरले भने ।

उनि मात्र नभई ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहेका छन् । प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहेका छन् ।

प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो । अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गरेका थिए । त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोजेका हुन् । उनि यसको छायाङ्कनमै छन् । पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा ः द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गरेका थिए ।

पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धीरज सकारात्मकरूपमा लिन्छन् । “हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो । आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनु पर्छ भन्ने चेतना बढ्नु सुखद हो । हामी प्रयास गरिरहेका छौँ”, अभिनेता मगरले भने । त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत छैनन् । “स्टारडम त सकिन पनि सक्छ । तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ । मलाई व्यक्तिगतरूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु”, उनले भने ।

डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गरेका उनले ‘बाबरी’ मा आफूलाई पूर्णरूपमा परिवर्तन गरेका छन् । प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उनको स्वर होइन कि भन्ने लागेको थियो । ‘सानो राजा साहेब’ का रूपमा उनि फरक देखिएका छन् । यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ । बाहिरी हाउभाउ जस्तै बोल्ने, हिँड्ने शैली मिल्न सक्छ ।

“सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ । मैले साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियालेँ । साथै छायाङ्कन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ । स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ”, अभिनेता मगरले भने । यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उनि बताउँछन् ।

निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गरेका थिए । पहिलोपटक सुन्दा स्वाभाविक नसुनिएता पनि अहिले दर्शकले यसलाई स्वीकारेका छन् । धीरजले बोलेको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ । उनि भन्छन्, “सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ । किनकी विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ । निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ ।” दर्शकले रुचाइरहनु भएको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी छन् । चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ ।

लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहेता पनि उनि सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहन्छन् । “म फरक गर्ने प्रयासमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु”, उनले भने । उनि आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहन्छन् ।

हिरोको रूपमा दर्शकको प्रिय बनिसक्नुभएका धीरजमा भिलेन बन्ने रहर छ । सकारात्मक भूमिकाभन्दा अभिनय क्षमतालाई देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उनि बताउँछन् । “मलाई सस्पेन्स र थ्रीलर चलचित्र मन पर्छ । त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ । मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु”, उनले भने ।

‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा छन् । उनिहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाइएको छ । यसको छायाङ्कन नेपालसँगै सिक्किममा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: