Fri. Apr 26th, 2024

काठमाडाैँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सन पनि नेपाली चलचित्र नै भएको ठहर गरेको छ । बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग गरेको छलफलमा मन्त्रालयले नेपाली चलचित्र नै भएको ठहर गरेको हो।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको बताइएको छ।

यसअघि बोर्डले फिल्म हिन्दीमा भएको जिकिर गर्दै विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्नुपर्ने बताएको थियो। बुधबार सोही शर्तमा सेन्सरका लागि स्विकृति समेत दिएको थियो।

तर, बिहीबार सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको जानकारी दिएका छन्।

नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार नदेखिएको उनको भनाइ छ।

प्रेमगीत ३को हिन्दी भर्सनलाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो।

बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए।

फिल्मको हिन्दी भर्सन नेपाली ठहर भएपछि फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले सत्यको हमेशा जीत हुने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हामीलाई बढी बोल्यो भन्नेले समिक्षा गर्नु जरुरी छ। हामीलाई भएको अन्याय विरुद्द आवाज उठाएका हौँ। हाम्रो मुद्दा एउटै हो संसारले नेपाली चलचित्र करार गरेको छ। आफ्नो धर्ती मा बनेको चलचित्रलाई देशले किन स्विकार गर्दैन भन्ने हाम्रो चित्त दुखाई थियो। जय नेपाली चलचित्र ।’

यस फिल्म नेपाली कि विदेशी भन्ने विषयमा समग्र कलाकारहरू नै २ भागमा बाँडिएका थिए। फिल्मका निर्तामा सेन र नायक प्रदीप खड्काले बोर्डको ठम्याइविरूद्ध निरन्तर बोलीरहेका थिए।

Leave a Reply

%d bloggers like this: