Fri. Apr 19th, 2024

काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ ।

एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् ।

विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बलमा अभिषेक गोल गरे ।

तर, प्रदीप लामाले ७०औं मिनेटमा गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो । ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले २–१ को जित निश्चित गर्‍यो ।

त्यसअघि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबका विक्की तामाङले गरेको पासमा आशिष लामाले छैटौं मिनेटमा गोल गर्न सकेनन् ।

मछिन्द्र फुटबल क्लबका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औं मिनेटमा गरेको प्रहार एपीएफका युया कुरियामाले उत्कृष्ट बचाउ गरे ।

त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्ती मगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो ।

एपीएफका प्रदीप लामाले ३८औं मिनेटमा ६ यार्डबाट क्रस गरे पनि आशिष लामाले भेटाउन सकेनन् । पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपीएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो ।

आशिष लामाले ६३औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिट पोस्टको माथिबाट बाहिरियो । खेलको ८९औं मिनेटमा आवास लामिछानले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहार्दै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित बनेको थियो ।

लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्दै लिगको अन्त्य गर्यो । त्यस्तै, समान खेलबाट १५ अंक जोडेको एपीएफले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।

यस पटक लिग तालिकाको पुछारमा रहेका दुई टोली च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका छन् ।

Leave a Reply

%d bloggers like this: