Sun. May 5th, 2024

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो फिल्म लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक फिल्म बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु’ फिल्म निर्देशक प्रदिप खड्गीले बताए ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ ना उपन्यासमा आधारित फिल्म ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसगको समन्वयमा निर्माण गरिएको फिल्म हो । कला निर्देशक केके माननधरका अनुसार फिल्ममा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो । पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक फिल्म निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो फिल्ममा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी फिल्ममा आवद्ध भएर काम गर्दै आएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गरेका हुन् ।
फिल्मको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् । फिल्ममा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले फिल्म छायाकन गरेका छन् । फिल्म असार १३बाट प्रदर्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: