Mon. May 20th, 2024

काठमाडाैं ।
आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो मितिमा निर्देशक सुदर्शन थापा निर्देशित तथा अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ ।
उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा यो मितिमा अन्य फिल्म थिएनन् । यसैबीच सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’ ले प्रदर्शन मिति घोषणा गर्‍यो ।
अब भदौ २२ मा दुईटा फिल्म मात्र रिलिज नहुने भएका छन् । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ पनि उक्त मितिमा रिलिज हुने भएको छ । तीजलाई लक्षित गर्दै ‘रोजी’ टिमले ‘रामकहानी’ सँग भिड्ने आँट कसेको छ ।
‘रोजी’ का वितरक गोविन्द शाहीले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै फिल्मको रिलिज डेटको विषयमा जानकारी दिए । उनले भने, ‘हामी भदौ १५ मा आउने कुरा थियो । तर उक्त मितिमा सन्तोष सेनको ‘मेरी मामु’ आउने भएपछि भदौ २२ रोजेका हौं ।’
फिल्म ‘रोजी’ को टीजर सार्वजनिक भइसकेको छ । फिल्ममा अभिनेता खड्का एक किलरको भूमिकामा प्रस्तुत छन् । निरक पौडेल निर्देशित यो फिल्ममा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरु पनि अभिनय छ ।
हरेक वर्षका तीजमा नेपाली फिल्मले सोलो रिलिजको मौका पाएका उदाहरण निकै कम छन् । यस वर्ष पनि तीन ठूला फिल्म एकै मितिमा रिलिज हुने भएपछि यतिबेला सिनेवृत तरंगीत बनेको छ ।
सुध्रिएको सम्बन्ध फेरि ध्वस्त
यहाँ दुश्मनीको सुरुवात र मित्रताको अन्त्य कुन मोडमा हुन्छ पत्तो हुँदेन । ३ वर्षसम्म प्रदीप खड्का र पूजा शर्माको ‘पानी बाराबार’ थियो । ‘प्रेमगीत’ रिलिजपछि यो जोडी दुई ध्रुव भएका थिए ।
प्रदीपको निर्देशक सुदर्शन थापासँग पनि बोलचाल बन्द थियो । गएको तीन महिना अगाडि प्रदीप र पूजाले दुश्मनी भुल्दै अंकमाल गरे । यस्तै, केही हप्ता अगाडि सुदर्शन र प्रदीपको पनि बोलचाल सुरु भयो । तर, अब यो मित्रता धेरै दिन नटिक्ने भएको छ ।
भदौ २२ मा ‘रामकहानी’ सँग ‘रोजी’ भिड्ने भएपछि भर्खर-भर्खर सुध्रिएको प्रदीपको पूजा र सुदर्शनसँगको सम्बन्ध फेरि ध्वस्त हुने भएको छ । यी दुवै फिल्म दर्शकमाझ प्रतिक्षीत छन् ।
निर्माता/निर्माताको व्यावसायिक द्वन्द्वले फेरि एक पटक प्रदीपको पूजा र सुदर्शनसँग बोलचाल बन्द हुने अवस्थामा पुगेको छ । बोलचाल सुरु भएपछि दर्शक यी तीनको पुनः टिमअप हुनेमा विश्वस्त थिए तर, अब लाग्छ त्यो सम्भावनाको बोट लडेको छ ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: