Thu. May 9th, 2024

काठमाडाैं । 
अर्जेन्टिनाका सुपर स्टार लियोन मेसी युरोपमा आफुले  एकमात्र क्लब बार्सिलोनाबाट खेल्ने कुरा प्रष्ट पारेका छन् । अर्जेन्टिनाका लागि अर्को विश्व कपको तयारीमा जुटेका मेस्सीले घरेलु क्लब निवेल्सबाट खेल्ने मात्र सम्भावना रहेको बताएका हुन् ।
बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए । ‘युरोपमा मैले खेल्ने एउटा मात्र क्लब बार्सिलोना नै हो । यसमा म निश्चित छु,’ मेस्सीले अर्जेन्टिनी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, ‘एक दिन अर्जेन्टिनामा खेल्न चाहान्छु मैले त्यो सधै भन्दै आएको छु । तर, मलाई थाहा छैन त्यो होला नहोला । तर मेरो दिमागमा त्यो छ ।’
उनले निवेल्सबाट खेल्ने सपना रहेको पनि सुनाए । ‘ म यहि क्लबबाट खेल्न चाहन्छु अरुबाट होइन । कम्तीमा म छ महिना यसबाट खेल्न चाहन्छु । तर, के हुन्छ थाहा छैन, ‘ उनले भने, ‘सानोमा निवेल्सबाट खेल्ने मेरो सपना थियो । बाबु, दाईहरु साथीहरुसँग म खेलमा जान्थे । परिस्थितिले अन्तै पुगियो । तर मेरो दिमागमा अहिले पनि छ ।’
मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनमा स्पेन नरोजेर अर्जेन्टिनाबाटै खेल्ने निर्णयबाट आफु खुसी रहेको बताएका छन् । यदि स्पेन रोज्थे भने उनी विश्व कप र युरोपियन च्याम्पियन पनि बन्न सक्थे ।
‘एक दिन साथीसँगको कुराकानीको क्रममा उनले भनेका थिए, ‘ यदि तिमिले स्पेन रोजेको भए विश्व कप विजेता बनिसक्ने थियौं,’ मेस्सीले भने, ‘तर मलाई कुनै पनि समय दिमागमा त्यो आएन । अर्जेन्टिनाका लागि जित्नु त्यो केहि फरक नै हुनेछ ।’
उनले विश्वकप जित्ने सपना देख्ने खेलाडी अर्जेन्टिनामा रहेको बताए । ‘जितका साथ विश्व कपको सुरुवात गर्नु महत्वपूर्ण हुन्छ,’ मेस्सीले भने, ‘हामी सहज समूहमा छैनौं ।’ समूह ‘डी’मा अर्जेन्टिनामा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन् ।

Leave a Reply

%d bloggers like this: