Fri. Mar 29th, 2024
चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवारबाट ४४ वर्षका भएका छन् । हाल फिल्म ‘रामकहानी’ को छायांकनमा ब्यस्त उनलाई बिहानैदेखि विभिन्न चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
केदारका सहकर्मी तथा चर्चित हास्यकलाकार सिराम कट्टेल (धुर्मुस) ले फेसबुकमा एक स्टाटस लेख्दै उनलाई जन्मदिन विस गरे ।
उनी लेख्छन्, ‘सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै गरेका ती पल, अहिले पनि मन र दिमागमा हरपल आइरहन्छन् । केदारजी, तपाईं मनले मानेको मित्र, दर्शकको प्रिय । र, त तपाईं हामी सबैको दिलभित्र हुनुहुन्छ । जन्मदिनको अवसरमा अझै धेरै प्रगति र सु-स्वास्थ्यको कामना ।’
यस्तै, हास्यकलाकार दीपकराज गिरीले पनि फेसबुकमार्फत ‘माग्ने बुढा’ लाई जन्मदिनको शुभकामना दिँदै
 फेसबुकमा लेख्छन्, ‘नाम माग्ने बुढा… सक्दो अरूलाइ नै दिइरहेको हुन्छ । नाम माग्ने बुढा… एउटा निर्मातासँग १०-१० लाख माग्न थाल्यो । संसारको पहिलो माग्ने… जसलाई  माया गरेर सबैले माग्ने सर भन्छन् । माग्ने बुढा… मेरो जिन्दगीको पहिलो माग्ने जो मेरो भाइ हो । साथि हो, हात हो पाखुरा हो । यहि प्यारो भाइलाई जन्मदिनको लाखौ लाख शुभकामना ।’
दीपाश्री निरौला, अभिनेत्री पूजा शर्मा, जितु नेपाललगायतले पनि केदारलाई जन्मदिनको शुभकामना दिएका छन् । पछिल्लो समय हास्यटेलिसिरियलभन्दा ठूलो पर्दामा व्यस्त उनी नेपालका महंगा कलाकारमा पर्दछन् । हालैमात्र उनले सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ का लागि १० लाख पारिश्रमिक बुझेका थिए ।
को हुन् केदार घिमिरे ‘माग्ने बुढा’ ? 
केदार घिमिरे ‘मेरी बास्सै’ नामक टेलिसिरियलबाट लोकप्रिय बनेका हुन् । उनी हेटौंडाका स्थानिय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘माग्ने बुढा’ को भूमिकामा अभिनय गर्ने कलाकार हुन् ।
केदारले २०५० सालमा एसएलसी परिक्षा पास गरेका थिए । २०५० सालमा एसएलसी परिक्षा पास गरेपछि घिमिरे कानुन विषय पढेर अधिवत्ता हुने सोचका साथ काठमाडौं आएका हुन् ।
काठमाडौंमा आएपछि उनले फुटपाथमा कपडा पसल थाप्नेदेखि खाने मसला विक्रि गर्दै हिँड्ने काम समेत गरे । केदारले शुरुमा ‘हिजो आजका कुरा’ मा काम गरेका थिए । त्यसपछि ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुँदै ‘मेरी बाँस्सै’ मा काम गरेका हुन् ।
उनले काम गरेको सबैभन्दा चर्चित क्यारेक्टर ‘मेरी बास्सै’ को ‘माग्ने बुढा’ ले सबैमाझ चिनायो । त्यसपछि उनले आफ्नो करियरलाई कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन ।
दुई वर्ष अगाडि डिप्रेसनबाट पिडीत  बनेका केदारले ‘छक्का पञ्जा’, ‘वडा नम्बर ६’ र ‘६ एकान ६’, ‘६क्का पञ्जा २’ मा मुख्य भूमिका निर्वाह गरिसकेका छन् ।

Leave a Reply

%d bloggers like this: