Thu. Apr 25th, 2024

काठमाडौंः चौतर्फी विरोधका बाबजुत बलिउड चलचित्र पद्मावत (पद्मावती) विश्वभर एकै पटक प्रदर्शनमा आएको छ । भारतीय राजपूत संगठनको विरोधका बाबजुत बिहीबार सो चलचित्र करिब ७ हजार चलचित्र हलहरुमा प्रदर्शन भएको हो । भारतको मध्ये प्रदेश, गुजरात, राजस्थान र गोवामा सो चलचित्र प्रदर्शन हुनै सकेन ।
भारतमा चलचित्र हलका मालिकहरुको संगठन मल्टीप्लेक्स एसोसिएशन अफ इन्डीयाले ती राज्यहरुमा चलचित्र नदेखाउने निर्णय नै गर्नु परेको छ । भारतका कयौं शहरमा मल्टीप्लेक्स र थिएटरमा सुरक्षा बढाइएको छ ।
मुम्बईस्थित गुँडगाउँ र नोएडामा विद्यालय नै बन्द गरिएको छ । फिल्मको विरोधमा बुधबार ती ठाउँमा स्कुल बसमा आक्रमण भएपछि विद्यालय बन्द गरिएको थियो । भारतीय राजपूत करणी सेनाले देशव्यापी बन्दको आह्वान गरेको छ ।
सो चलचित्रको विरोध गर्दै बुधबार वाराणसीको एक सिनेमा हल बाहिर एक व्यक्तिले आत्मदाहको प्रयाससमेत गरेका छन् ।
लखनउमा नोवेल्टी सिनेमा घर बाहिर करणी सेनाका कार्यकर्ताले मानिसहरुलाई फूल बाँडेर उक्त चलचित्र नहेर्न आग्रह गरेका छन् ।
भारतका थुप्रै शहरहरुमा बुधबार र बिहीबार ठूला विरोध प्रदर्शन भएका छन् जहाँ सयौं मानिस घाइते भएका विवरणहरु भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।
भारतका अधिकांश शहरमा बलियो सुरक्षा व्यवस्थाका साथ सो फिल्म रिलिज गरिएको छ ।
पद्मावती विवाद
एक भारतीय कवि मलिक मोहम्मद जयासीले सन् १५४० मा लेखेको कवितामा आधारित फिल्म हो पद्मावती । तर भारतमा यसलाई एक सांस्कृतिक कथासँग जोडेर विरोध गरिएको छ । भारतको सत्तारुढ दल जनता पार्टीका नेताहरुले नै पद्मावती फिल्मको विरोध गरेपछि यो फिल्म करिब २ महिनाअघि रिलिज हुनुपर्नेमा रिलिज हुन सकेको थिएन ।
चलचित्र पद्मावतमा चौधौ शताब्दीको एक उच्च राजपूत जातीय हिन्दु रानी र मुस्लिम शासक अलाउद्दीन खिल्जीको कथा बारे वर्णन गरिएको छ ।
बलिउडकी चर्चित नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले उक्त चलचित्रमा मुख्य भूमिका खेलेका छन् ।
हिन्दु समूह र राजपूत जातिको संगठनले निर्देशक भन्सालीले बनाएको चलचित्रमा दुई जना पात्रबीच अशोभनीय रोमान्टिक दृश्यहरु देखाइएको र त्यसले ती रानीको चरित्रको अनादर गरिएको आरोप लगाएका छन् ।
सञ्जयलिला भन्सालीले निर्माण गरेको निकै महंगो बजेटको सो फिल्मले मौलिक कथा बिगारेको भन्दै यसको विरोध गरिएको हो । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि विरोधका स्वरहरु सुनिएका थिए । त्यसपछि लगातार विरोध भएपछि भारतीय सेन्सर बोर्डले केही दृष्यहरु काटेर र नाम परिवर्तन गरी ‘पद्मावत’ गराएर चलाउन सकिने बताएको थियो ।
त्यसपछि पनि अदालतमा विचाराधिन मुद्दाका कारण सो फिल्मलाई चलाउन सकिएको थिएन । बुधबार भारतीय अदालतले सो फिल्म चलाउन सक्ने फैसला गरेपछि बिहीबारबाट फिल्म प्रदर्शनमा आएको हो ।
बुधबार नै भारतमा प्रिमियर शो गरिएको फिल्मबारे निकै सकारात्मक प्रतिक्रिया प्राप्त भएका थिए ।
दीपिका पादुकोण, साहिद कपुर, रणवीर सिंहलगायतका कलाकारहरुले अभिनय गरेको सो फिल्म कुनै सामाजिक सद्भाव विगार्ने भन्दा पनि साहित्यिक कृतिमा आधारित रहेर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । सो फिल्मले भारतमा केही समयअघि रिलिज भएको बाहुबली फिल्मको सिरिजलाई पनि उछिन्ने अनुमानहरु गरिएका छन् ।

Leave a Reply

%d bloggers like this: