Tue. Apr 23rd, 2024
भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ अहिले आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाउन मोफसल दौडाहामा छ । निर्माण युनिट, मुख्य कलाकार तथा सांगीतिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।
 फिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गर्यो । पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा ‘ग्याङ्गस्टर ब्लूज’ सँग स्थानिय सयौं दर्शक झुम्मिए । चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै, मुख्य अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाही दर्शकसँग सेल्फीमा रमाए ।
फिल्म मुख्यतः युवा पुस्ता लक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ’पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो । जहाँ अचम्मको माहोल बन्यो बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किए । आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखियो ।जेएमसीसँगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुश्किल परेको थियो । आई लभ यू भन्नेदेखि सेल्फीमा रमाउने, गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिरमानका क्रेजी फ्यानहरु पोखरामा भेटिए ।
पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमा देखिएको क्रेजले स्थानियबासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन् । यस्तै, ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ’ग्याङ्गस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोहि प्रकारले घेरिईन् ।
कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागि सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अबसर पाए । त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बताए । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।
निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा मुख्य अभिनेता र अभिनेत्री प्रतिको क्रेजले फिल्मले सफलताको संकेत दिएको बताए । आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ ।
सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ । ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’ फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् ।
‘ग्याङस्टार ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: