Thu. Apr 25th, 2024

काठमाडौं, वैशाख १६ । नेपाली निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाज अहिले निकै चर्चामा आएको छ । अध्यक्ष दिनेश डिसीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै ६ जना कार्यसमितिका पदाधिकारीले संयुक्त राजीनामा दिए पनि तीमध्येका केहीले भने अहिले राजीनामा फिर्ता लिन थालेका छन् । संयुक्त राजीनामा दिनेमध्यको एक आरबीके शरदले गत सोमबार राजीनामा फिर्ता गरेलगत्तै मंगलबार महेशकुमार ढुंगेलले पनि राजीनामा फिर्ता लिएका छन् । ढुंगेलले अध्यक्ष डिसीलाई एक पत्र लेख्दै आफुले दिएको राजीनामा पत्र फिर्ता लिएको जनाएका छन् । ‘कार्यसमितिलाई वार्ताद्वारा भएका प्रक्रियागत त्रुटीहरु सच्याउँदै अघि बढ्ने भनिएको भए पनि असन्तुष्ट पक्ष वार्ताको टेबलमा बस्न तयार नभएकाले मैले व्यक्तिगत रुपमा अध्यक्षलगायत अन्य सदस्यहरुसँग वार्ता गर्दा राजीनामा पत्रमा लगाइएका आरोपमा पूर्ण सत्यता नदेखिएको र सामान्य प्रक्रियागत त्रुटीलाई अध्यक्षले सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै समाजलाई एकताबद्ध भई अगाडि बढाउन अनुरोध गरेकोले उक्त राजीनामा फिर्ता लिएको छु ।’ ढुंगेलले पत्रमा लेखेका छन् । समाजले ढुंगेलले फिर्ता गरेको पत्रलाई स्वीकृत गरेको छ भने राजिनामा दिएका अन्य ५ निर्देशकहरुले पनि राजिनामा फिर्ता लिने कुरा चलिरहेको अध्यक्ष दिनेश डिसीले बताए । स्रोतका अनुसार संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार केपी पाठकले डिसी अध्यक्ष बनेपछि उनले गरेको काम प्रति इष्र्या गर्दै विभिन्न बहाना बनाएर वर्तमान कार्यसमितिका पदाधिकारीलाई राजीनामा गराउन प्रोत्साहित गरिरहेका छन् । ‘पाठकले आफ्नो कार्यकालमा खासै केही गर्न सकेनन्,’स्रोतले भन्यो,‘त्यसकारणले पनि डिसीको कार्यकाललाई असफल बनाउन गुटबन्दी गर्दै पदाधिकारीलाई राजीनामा गराउन उकासिरहेका छन् ।
rbk-sarad

%d bloggers like this: