Fri. Apr 26th, 2024

‘मलाई अमेरिका यही’ भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकगायक पशुपति शर्मा सोमवार पुल्चोक क्याम्पसको क्रिकेट मैदानमा भेटिए । लौरो समातेर क्रिकेट बल हानिरहेका पशुपतिलाई सीताराम कट्टेल (धुर्मुस)ले खेल्न सिकाउँदै थिए । यो कलाकारबीचको खेल भने होइन, शर्माको आगामी गीत ‘क्रिकेट खेल्न जान्छु’ भन्ने गीतको म्युजिक भिडियो सुटिङको दृश्य हो । जहाँ गायक पशुपतिसँगै रमेशराज भट्टराई लगायतले अभिनय गरेका छन् भने हास्यकलाकार कट्टेलले निर्देशन गरेका छन् । पशुपतिले बल हिर्काउँदै गर्दा ब्याकग्राउन्डमा यस्तो गीत बजिरहेको थियो–
मोडल खेलेँ त्यहाँ पनि फिट भइनँ, दोहोरी मात्रै गाएर हिट भइनँ
म पनि अब त क्रिकेट खेल्न जान्छु, नाम पनि हुने दाम पनि हुने
म पनि अब त क्रिकेट खेल्न जान्छु, च्याप्प लौरो समात्छु र चौका छक्का हान्छु
क्रिकेटप्रति व्यंग्य गरिएको जस्तो लाग्ने गीतको भाव खुलाउँदै उनले भने, ‘अरूले जे गरेर स्थापित हुन्छन्, सबैले त्यस्तै गर्न खोज्ने हामी नेपालीको प्रवृत्तिमाथि व्यंग्य गरेको हुँ ।’ भर्खरै बंगलादेशमा सम्पन्न विश्कप टी–२० मा नेपाली क्रिकेटरले उच्च प्रदर्शन गरेपछि क्रिकेटको ज्वरो उकालिएको छ । यही अवसरलाई उनले छोप्न खोजेका हुन् । ‘यो गीतमा एउटा उद्देश्य पनि छ मेरो,’ उनले भने, ‘क्रिकेटमा राम्रो भयो भन्दैमा फुटबलमा राम्रो गर्नसक्ने छोरालाई पनि क्रिकेट नै खेल भन्ने अभिभावक सचेत होऊन् भनेर यस्तो गीत गाएको हुँ ।’ उनीसँगै अर्कातर्फबाट दोहोरी गायका रमेशराज भट्टराईलाई अघि सार्दै उदाहरण प्रस्तुत गरे । माथिका पंक्तिपछि रमेशराज गीतमार्फत नै उनलाई सुझाउँछन्–
गायक भयौ सुरुवाल र दौराले, ब्याटले हान हुँदैन लौराले
हे भगवान् के के देख्न पाइयो, व्यर्थैको रंग छैन केही ढंग
हे भगवान् के के देख्न पाइयो, बोकाले दाइँ हुने भए गोरु किन चाहियो ?
उनले ‘कलाकार त परे नि थला, न त सम्मान न कहिल्यै हौसला’ भन्दै अलिअलि रोष प्रकट गरेका छन् । त्यो क्रिकेटप्रति नभई कलाकारलाई सम्मान नदिने राष्ट्रप्रति भएको उनले बताए । त्यसैगरी गीतमै ‘यसै यत्रो सम्मान कहाँ पाइन्छ, ठूलो त्याग र तपस्या चाहिन्छ’ भनेर राम्रो क्रिकेट खेल्नका लागि दुःख पनि उत्तिकै रहेको मिसाउन भ्याएका छन् उनले ।
तेह्र वर्षदेखि सबैभन्दा नजिकका साथीका रूपमा रहेका पशुपति र रमेशराजले गायकीय सहकार्य पहिलोपल्ट गरेका हुन् । लोकआधुनिक गीतमा उत्तिकै सक्रिय रमेशराजको भने यतिबेला ‘बबाल भो’ भन्ने गीत चर्चित छ ।

%d bloggers like this: